© २०२३
हरेक वर्ष मे १५ तारिखमा अन्तर्राष्ट्रिय परिवार दिवस विश्वव्यापी रूपमा मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि औपचारिक रूपमा सुरु गरेको यो दिवसले पारिवारिक जीवनको महत्त्वलाई राष्ट्रिय नीतिनिर्माण, सामाजिक चेतना र नागरिक व्यवहारमा पुनःस्थापना गराउने उद्देश्य राखेको छ। नेपालजस्तो सामाजिक र सांस्कृतिक विविधताले भरिएको मुलुकमा, जहाँ परिवार केवल नाताको सञ्जाल नभई संस्कार, परम्परा र सहअस्तित्वको आधार हो, यो दिवस विशेष सान्दर्भिक देखिन्छ।
पछिल्लो केही दशकअघिसम्म नेपालको पारिवारिक संरचना सामूहिक र परम्परागत संयुक्त परिवारमा आधारित थियो। एउटै घरमा तीन–चार पुस्ताका सदस्यहरू सँगै बस्थे, जहाँ दैनन्दिन जीवन केवल व्यक्तिका लागि नभई सबैका लागि साझा हुन्थ्यो। हजुरबा–हजुरआमाको अनुभव, बुबा–आमाको निर्देशन र दाजु–भाइ–दिदी–बहिनीको सहकार्यमा बालबालिकाले जीवनको पहिलो पाठ सिक्थे। परिवार मात्र आश्रयको केन्द्र थिएन, संस्कार र अनुशासनको जिवन्त पाठशाला थियो। तर समयका साथ समाजमा गहिरा रूपान्तरणहरू भएका छन्। सहरको तीव्र विस्तार, शिक्षाको वृद्धि, वैदेशिक रोजगारी, तथा प्रविधिको विकासले पारिवारिक स्वरूप र सम्बन्धलाई नै पुनः परिभाषित गरिदिएको छ। पहिले जस्तो संयुक्त परिवार अब अल्पसंख्यक बनेको छ। एकल परिवार—जहाँ आमा, बुबा र बालबालिका मात्र सँगै बस्छन्—सहरदेखि गाउँसम्म प्रचलनमा आएको छ। स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत निर्णय स्वतन्त्रताको खोजीले पारिवारिक सहजीवनमा दूरी सिर्जना गरेको देखिन्छ।
महत्त्वपूर्ण रूपमा, वैदेशिक रोजगारले नेपाली परिवारलाई आर्थिक रूपमा मजबुत बनाएको छ, तर सामाजिक र भावनात्मक संरचनामा खलबली ल्याएको छ। लाखौं नेपाली युवा विदेशमा छन्, जसको प्रत्यक्ष असर उनीहरूको परिवारमा देखिन्छ। श्रीमान् विदेश, श्रीमती एकल अभिभावकका रूपमा घर सम्हाल्दै—यो अब सामान्य दृश्य बनेको छ। यस्तो अवस्थाले सन्तानलाई दुवै अभिभावकको माया र मार्गदर्शनबाट वञ्चित तुल्याएको छ। त्यसैले आर्थिक उपलब्धि हुँदाहुँदै पनि सम्बन्धको गहिराइ र आत्मीयता खस्कँदै गएको अनुभूति हुन्छ।
विगतका केही दशकमा नेपालको पारिवारिक संरचनामा ठूलो परिवर्तन आएको छ। पहिलेको संयुक्त परिवार प्रणाली आज एकल परिवारमा परिणत हुँदै गएको छ। संयुक्त परिवारमा तीन–चार पुस्ताका सदस्यहरू एउटै घरमा सँगै बस्थे, जहाँ बच्चादेखि वृद्धसम्म सबैको समुचित हेरचाह र सामाजिक शिक्षा हुन्थ्यो। तर आजको आधुनिक जीवनशैली, रोजगारीका अवसर, शिक्षाको खोजी र व्यक्तिवादी सोचका कारण धेरै मानिसहरू एकल परिवार रोज्न थालेका छन्। यो परिवर्तनले केही सकारात्मक लाभ त ल्याएको छ, तर त्यससँगै समाजमा अनेकौं अस्तव्यस्तता र समस्याहरू पनि बढ्दै गएका छन्। आज एकल परिवारका कारण सबैभन्दा बढी असर वृद्धवृद्धाहरूमा देखिन्छ। पहिलेको जमानामा हजुरबा–हजुरआमाले नातिनातिनालाई कथा सुनाउँदै हुर्काउँथे, उनीहरूको जीवनअनुभव परिवारका लागि मार्गदर्शन हुन्थ्यो। अहिले भने उनीहरू वृद्धाश्रममा बस्न बाध्य छन्, वा गाउँमा एक्लै बसिरहेका हुन्छन्। यस्तो अवस्थामा उनीहरू मानसिक पीडामा छन्, र यसले सामाजिक सम्वेदनशीलतालाई कमजोर बनाएको छ।
बालबालिका पनि एकल परिवारको कारण प्रभावित छन् । संयुक्त परिवारमा धेरै सदस्यहरूसँग मेलमिलाप, अनुशासन र सांस्कृतिक शिक्षा पाइन्थ्यो। तर आज अधिकांश बच्चाहरू मोबाइल, इन्टरनेट र टिभीमा सीमित भइरहेका छन्। उनीहरूमा सामाजिक व्यवहार, सहकार्य, सहनशीलता जस्ता मूल्यहरू कमजोर हुँदै गएको देखिन्छ। त्यस्तै, एकल परिवारको संस्कृति विकाससँगै मानिसहरू बढी आत्मकेन्द्रित हुन थालेका छन्। छिमेकीलाई चिन्न छोडिएको छ, आफन्तको माया घट्दै गएको छ र सामाजिक कार्यक्रमहरूमा सहभागिता घटेको छ। यस्तो प्रवृत्तिले समाजमा अलगाव र असहयोगको भावना पैदा गरिरहेको छ। यसैले, परिवार सानो हुनाले सहजता ल्याए पनि सामाजिक सन्तुलन कायम गर्न कठिन भइरहेको छ। एकल परिवारको व्यवस्था चुन्नु गलत होइन, तर त्यसले उत्पन्न गर्ने सामाजिक असरप्रति सचेत रहनु आवश्यक छ। हामीले चाहे एकल परिवारमा बसौं वा संयुक्तमा, बृद्धबृद्धाको सम्मान, छिमेकीसँगको सम्बन्ध, सामाजिक परम्पराको जगेर्ना, र भावनात्मक सञ्जाल मजबुत पार्न जरुरी छ।
प्रविधिको विकासले पनि पारिवारिक सम्बन्धमा नयाँ खालको चुनौती ल्याएको छ। इन्टरनेट, मोबाइल, सामाजिक सञ्जालजस्ता माध्यमले भौगोलिक दूरी घटाए पनि आत्मीय संवाद र आपसी समय घटाएका छन्। एउटै घरमा बसेका सदस्यहरू पनि आ–आफ्नो स्क्रिनमा हराइरहेका छन्। पहिले सँगै खाइने खाना, सँगै गरिने गफगाफ, सँगै बिताइने समय—आजकाल व्यक्तिगत कोठा र व्यक्तिगत उपकरणमा सीमित छ।
महिलाहरूको सशक्तिकरण पारिवारिक संरचनाको अर्को महत्वपूर्ण पक्ष हो। महिलाहरू शिक्षित, आत्मनिर्भर र आर्थिक रूपमा सक्षम हुँदै गएका छन्। यो सशक्तीकरणले पारिवारिक भूमिकामा नयाँ सन्तुलन ल्याएको छ। अब पत्नी केवल गृहिणी होइन—उनको आवाज निर्णय प्रक्रियामा महत्त्वपूर्ण छ। तर कतिपय अवस्थामा पुरुषप्रधान सोचका कारण यस्ता परिवर्तनहरूलाई स्वीकार्न कठिनाइ भइरहेको छ, जसले परिवारभित्रको समझदारी र सम्मानमा चुनौती ल्याइरहेको छ।
यसैबिच, वृद्धवृद्धाको अवस्था पनि गम्भीर प्रश्नको रूपमा उठ्न थालेको छ। परम्परागत रूपमा वृद्ध अभिभावकहरूलाई परिवारको मार्गदर्शकको रूपमा सम्मान गरिन्थ्यो। तर आज धेरै वृद्धवृद्धा एक्लिएका छन्—कतिपय वृद्धाश्रममा छन्, कतिपय आफ्नै घरमा भए पनि ध्यान र सम्मानबाट टाढा छन्। छोराछोरी आर्थिक रूपमा सक्षम भए पनि व्यवहारमा अभिभावकप्रति जिम्मेवारीको भावना न्यून देखिन्छ।
बालबालिकाको पालनपोषण र मानसिक विकासको सन्दर्भमा पनि अहिले गम्भीर चुनौतीहरू देखा परेका छन्। कामकाजी आमाबुबाले समय अभावका कारण आफ्ना सन्तानलाई मोबाइल, टेलिभिजन वा अन्य डिजिटल माध्यममा लगेर छोढ्ने प्रवृत्ति बढ्दो छ। यस्तो व्यवहारले बालबालिकाको सामाजिक सञ्जाल क्षमतामा, सहिष्णुता, आत्मनियन्त्रण र मानवीय सम्बन्धबारे बुझाइमा कमी ल्याइरहेको छ।
समाजको रूपान्तरणसँगै विवाह संस्थामा पनि परिवर्तन देखिएको छ। प्रेमविवाह, अन्तरजातीय तथा अन्तरधार्मिक विवाह, सहजीवन सम्बन्ध, सम्बन्ध विच्छेदको दर आदिमा वृद्धि भएको छ। सम्बन्धहरू चाँडै बन्ने र चाँडै टुट्ने प्रवृत्तिले परिवारको स्थायित्वमा प्रश्न उठाएको छ। यसले विशेषतः बालबालिकामा असुरक्षा, भावनात्मक तनाव र सामाजिक टाढापनको अनुभव बढाएको छ।
आर्थिक चुनौतीहरू पनि परिवार निर्माणको निर्णयमा बाधक बन्दै गएका छन्। सहरमा घर भाडा, विद्यालय शुल्क, स्वास्थ्य सेवा आदिको बढ्दो खर्चले युवाहरूलाई विवाह गर्न वा सन्तान पाउन हिच्किच्याउने बनाएको छ। कतिपयले विवाह पछि पनि सँगै नबस्ने, वा सन्तान नहुने निर्णय लिएका छन्। यसले भविष्यमा सामाजिक संरचनाको पुनःसंरचनाको आवश्यकता खडा गर्ने सम्भावना देखिन्छ।
यद्यपि यस्ता चुनौतीहरूको बिचमा आशाका किरणहरू पनि छन्। देशका विभिन्न स्थानमा महिला समूह, सहकारी संस्थाहरू, बालमैत्री पालिकाहरू, वृद्धसेवा केन्द्रहरू, तथा पारिवारिक परामर्श सेवाहरू सञ्चालनमा छन्। विद्यालयहरूले संस्कार शिक्षा सुरु गरेका छन्। स्थानीय सरकारहरू वृद्ध, एकल महिला र बालबालिकाका लागि अनुदान र सेवाहरू सुरु गर्दैछन्। यस्ता प्रयासहरूलाई नीति, बजेट र सामाजिक चेतनासँग एकीकृत गर्दै लैजान सकिने हो भने पारिवारिक प्रणालीलाई फेरि सशक्त बनाउन सकिन्छ।
सरकारको भूमिकालाई अझ स्पष्ट र प्रभावकारी बनाउनु आवश्यक छ। परिवारमैत्री नीति, एकल अभिभावकका लागि राहत कार्यक्रम, बालअधिकार सुरक्षाका योजना, तथा वृद्ध संरक्षण कानुनी रुपमा सुनिश्चित हुनुपर्छ। स्थानीय सरकार, सामुदायिक संस्था र नागरिक समाजबिच समन्वय गराएर पारिवारिक जीवनलाई सुरक्षित, सम्मानित र समर्पित बनाउन सकिन्छ।
अन्ततः, परिवार केवल सम्बन्धको नाम होइन—यो विश्वास, समर्पण, माया र उत्तरदायित्वको भावनात्मक संरचना हो। हामीले बदलिँदो समाजमा परम्परा र आधुनिकताको सन्तुलन खोज्दै परिवारलाई फेरि आत्मीयता, सुरक्षा र सहयोगको केन्द्र बनाउनुपर्छ।
अन्तर्राष्ट्रिय परिवार दिवस केवल एक उत्सव होइन, चेतनाको घण्टी हो। हरेक नागरिक, हरेक परिवार र हरेक नीति–निर्माताले यो दिनलाई आत्मसमीक्षा र नयाँ सुरुवातको अवसर बनाउनुपर्छ। हामी सबैले शब्द होइन, व्यवहारबाट परिवारलाई सम्मान गर्न सुरु गरौं।