© २०२३
काठमाडौं ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अनुपस्थित रहेको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को नियमावली २०७९ को दफा ६(५) अनुसार यस्तो छलफलमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थिति आवश्यक हुने स्पष्ट पार्दै नियमापत्ति जनाए।
“हामी अहिले बजेटको आधारस्तम्भ अर्थात् सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिरहेका छौँ। यसबेला अर्थमन्त्री स्वयं उपस्थित हुनुपर्थ्यो,” पाण्डेले भने, “संसद्को मर्यादा र प्रक्रियालाई कायम राख्न उहाँलाई सदनमा उपस्थित गराइनुपर्छ।”
तर सभामुख देवराज घिमिरेले अर्थमन्त्री पौडेल राष्ट्रिय सभामा यही विषयमा छलफलमा संलग्न रहेको जानकारी पाएको भन्दै प्रतिनिधिसभाको बैठकलाई निरन्तरता दिए।