© २०२३
सुर्खेत,३१ बैशाख ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ स्थित बहुप्राविधिक शिक्षालयले नर्सिङ पढाइ सञ्चालन गर्न अनुमति पाएको छ । संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८२/०८३ देखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतामा यही वैशाख २६ गते बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् को २०७ औं बैठकले नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ, ‘गुर्भाकोट नगरपालिकाद्वारा जग्गा व्यवस्थापन गरी तत्कालका लागि स्थानीय तहबाटै भौतिक पूर्वाधार तथा आर्थिक स्रोत व्यवस्थापन गर्ने गरी परिषद्को आंगिक शिक्षालयका रूपमा गुर्भाकोट बहुप्राविधिक शिक्षालय, सुर्खेतको स्थापना गरी शैक्षिक सत्र ०८२/०८३ देखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिनेछ ।’ कर्णाली प्रदेशमै पहिलोपटक चिकित्सा शिक्षा आयोगको नयाँ कानुन बमोजिम सम्बन्धन प्राप्त गर्दै सीटीईभीटीले गुर्भाकोट बहुप्राविधिक शिक्षालय स्थापना गरेको थियो ।
नगरप्रमुख हस्त पुनले आगामी शैक्षिक शत्रदेखि नर्सिङ कार्यक्रम सञ्चालन गर्न लागिएको जनाए । ‘नर्सिङको लागि हामी पहिलेदेखि नै निरन्तर रुपमा लागिरहेका थियौ’ उनले भने, ‘अथक मेहनतपछि हाम्रो प्रयासले सार्थकता पाएको छ ।’ गुर्भाकोट नगरपालिकामा आगामी शैक्षिक सत्रदेखि नर्सिङ कार्यक्रम सुरु हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । घर नजिकै नर्सिङ अध्ययन गर्न पाइने भएपछि नर्सिङ पढ्न बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुकासाथै आर्थिक खर्च पनि कम हुने स्थानीयले अपेक्षा गरेका छन् । ‘गाउँमै नर्सिङ पढाई हुने भएपछि यहाँ स्थानीयहरु खुसी भएका छन्’ स्थानीय रुपक पौडेलले भने, ‘घर छोडेर टाढा जानुपर्दा आर्थिक भार बढ्ने हुँदा सामान्य परिवारका छोरीहरु आँट गर्न सक्दैनथे अब सामान्य परिवारले पनि आफ्नो सन्तानलाई नर्सिङ पढाउन सक्नेछन् ।’