© २०२३
गुल्मी, ३१ वैशाख ।
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत सडक प्रभावित क्षेत्रका घरधनीहरूले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । पहिलो चरणमा रिडी–तम्घास खण्ड अन्तर्गत रहेका एक सय दुई जनालाई उक्त क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको हो । जिल्लामा गठित मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिबाट भएको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले क्षतिपूर्ति पाउनेहरूको नामावली समेत प्रकाशित गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहको समन्वय र सहजीकरणमा क्षतिपूर्ति निर्धारण गरिएको हो । समितिले प्रभावित क्षेत्रका घरधनीलाई चाँडो भन्दा चाँडो मदन भण्डारी योजना कार्यालयमा समन्वय गरी घर, टहरा व्यवस्थापन गर्न सुचित गरेको छ । सडक पुनर्निमाणको क्रममा घर, टहरा, शौचालय, गोठ तथा अन्य भौतिक संरचनाधनीहरूलाई क्षतिपूर्ति बितरणका लागि सूचना प्रकाशित गरिसकिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका ईन्जीनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले बताएका छन ।
प्रभावित घरधनिले क्षतिपूर्ति प्राप्त गर्नका लागि नागरिकता र लालपुर्जाको प्रतिलिपि, बिल्यूप्रिण्ट नक्सा, वडा कार्यालयको सिफारिस पत्र, घरधनीको निवेदन, आर्थिक वर्ष २०८१/०८२ को तिरो तिरेको रसिद, वडा कार्यालयको मुचुल्का तथा घरको चारैतिर देखिने तस्बिर आवश्यक पर्ने सुचना अधिकारी पौडेलले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधिन रिडी–तम्घास सडक खण्डका अन्य ५३ जना र रिडी बल्कोट सडक खण्डका ६७ जना संरचना धनिबाट आवश्यक कागजात सङ्कन भैरहेको छ । आवश्यक कागजात प्राप्त हुँदासाथ चाँडैनै उपसमितिको बैठक बसी मुल्याङ्कन गरी मूल समितिमा पेश गरिने सुचना अधिकारी पौडेलले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको २५ किलोमिटर सडकको स्तरोन्नतीको काम भैरहेको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित पालिका एवं सरोकारवाला कार्यालयहरू सदस्य रहेको क्षतिपूर्ति निर्धाणरण समिति गठन भएको छ । उक्त समितिले नेपाल सरकारको स्वीकृत भवनको लागत मूल्याङ्कन कार्यविधि २०७० को आधारमा क्षतिपूर्ति निर्धारण गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्ड अन्तरगत निर्माणधिन सिमलटारी–सौतामारे खण्डमा भने क्षतिपूर्ति निर्धारण गर्ने काम भैरहेको कार्यालयले जनाएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी, अर्घाखाँची र प्यूठानमा निर्माणाधिन सडकबाट प्रभावित क्षेत्रका घरधनिहरूले करिब ३० करोड रूपैंयाँ क्षतिपूर्ति पाउने अनुमान गरिएको छ ।