© २०२३
विनयशीलता शब्द मलाई गज्जवको लाग्छ । कहिले एकान्तमा बसेको समयमा यस शब्दमा घोत्लिन्छु । विनयशीलता को कोसंग हुन आवश्यक छ ? ज्यादै धेरै लेखपढ गरेकासंग या निरक्षर संग पनि ? या साक्षर र शिक्षितहरू संग मात्र ? यसलाई अंगीकार गर्नाले हुने फाइदा के र हानी के ? किसान मजदुर वा व्यापारीहरूसंग विनयशीलता हुन जरुरी छ या राजनीति गर्ने र मन्त्री महोदय भएर रमाउनेहरूसंग विनयशीलता हुन जरुरी छ ? कहिले प्रकृतिसंग पनि जोडेर हेर्न मनलाग्छ । अनि कहिले जलचर,थलचर या नभचरमा मात्र विनयाशीलता आवश्यक छ की भन्ने लाग्दछ । यो त मेरो मनमा उठेको तरंगमात्र हो । कहिले केही साथीहरूसंग यसका बारेमा कुरा हुन्छ । साथीहरू पनि विनायशीलताका वारेमा वहस गर्न चाहनुहुन्छ । एकदिन यसै विषयमा केही राजनीतिक व्यक्तित्वसंग छलफल भएको थियो । निश्कर्षमा उहाँहरूले चोर औंला अरूतिर तेस्र्याउनु भयो । कुरा त बुझियो नी ? हामीले जहिले पनि जसरी पनि भन्दै आएको विनायशीलता शब्दको खास अर्थ के हुन सक्छ ? हाम्रो मनमा आएको जस्तो अर्थ ठीक त्यही हुन सक्छ या फरक हुनसक्छ ? यसका वारेमा एक दिन आफै लाई सोधेर धुलौटो कोरेर हेरेको त विनयशीलताको अर्थ यसरी आयो सुशील, विनयी, नरम स्वभाव भएको । अव विनयीलाई फेरी केलाउँदा विनयशील अर्थात विनम्र स्वभाव भएको भन्ने आयो । अव कुरा के आयो भने नरम स्वभाव कसलाई मन पर्छ कसलाई मन पर्दैन ? कसले दर्शाउन पर्छ कसले दर्शाउन हुँदैन ? यो त प्रश्न नै होइन । सभ्य र शिष्ट स्वाभिमान मन नपराउने पनि कोही होला ? विनयशीलता भनेको सभ्यता हो । सभ्य बन्न कसलाई मन नहोला ? तर आफूले शिष्टता चाहनेले आफूबाट त्यो खालको व्यवहार प्रदर्शन गर्न सकछ कि सक्दैन ? मुख्य सवाल यही हो । तर विनयशीलता नभएकाहरूले पनि मज्जाले यसको चाहना गर्छन भन्न के अप्ठेरो होला र ?
हाम्रो शास्त्रले “भूषणानां भूषणं सविनया विद्या” अर्थात विनम्रतापूर्ण विद्या सबै गहनाको पनि गहना हो भनेको छ । विद्या मध्यमा पनि विनम्रतापूर्ण विद्या सबै गहनाको पनि गहना हो भनेपछि विनयशीलताको वारेमा वेग्लै चर्चा गर्न आवश्यक हुन्छ जस्तो लाग्दैन । जससंग विद्या अर्थात ज्ञान हुन्छ त्यही ज्ञान शरीरमा लगाइने जे जति गहनाहरू हुन्छन् ती गहना एकातर्फ राखेर हेर्ने र अर्कोतर्फ विनयशीलताको गहना राखेर हेर्ने हो भने निम्रतापूर्णको विद्याको तौल बढी हुन्छ । यो सत्य हो । अव यो कसका लागि आवश्यक छ र कसका लागि छैन भन्नै पर्दैन । अव राजनीति गर्नेसंग विनयशीलता आवश्यक छैन भन्यो भने के हुन्छ ? “भूषणानां भूषणं सविनया विद्या” यो सुत्रलाई हेर्ने हो भने पृथ्वीमा भएका सबै जलचर,थलचर, नवचर जे सुकै भए पनि यो आभूषण चाहिन्छ भन्न सकिन्छ । विनयशीलता अर्थात नरम स्वभाव नचाहिने कसलाई होला ? हामी मानवका लागि सबै भन्दा बढी आवश्यक होला तर मात्राको हिसाबले सबैलाई आवश्यक छ सहजै भन्न सकिन्छ । तर एउटा वर्ग या तत्वलाई यसको आवश्यकताहुँदैन त्यो भनेको मलसाँप्रो (गोइलाङ¬) प्रवृतिलाई हो । मलसाँप्रो कालो खैरो रङको हुन्छ यो न्याउरी मुसो प्रजातिमा पर्दछ । जसले आफूलाई जन्मदिने आमालाई मारेर मासु खाने गर्दछ । आफू सानो छँदा जसको स्तनपान गरेर ज्यान बच्यो उसैलाई लुछेर मारेर त्यसको मासु खाने जीवका लागि के को विनयशीलाता ?
विनयशीलताको वारेमा थाहा नभएर होला या आफूले भनेपछि त्यही नै सही हुन्छ भनेर राजनीतिज्ञले अरूतर्फ चोरऔंला देखाउनु भएको होला ? हाम्रा पाठकलाई यसको ठोस कारण के हो जस्तो लाग्छ ? हरेक मनिसलाई अन्य कुरा जस्तै विनयशीलता व्यवहारबाट देखाउन गाह्रो हुन्छ जस्तो लाग्दैन । तर किन कतिपय व्यक्तिहरूमा कम र कति व्यक्तिहरूमा त निकै न्यून मात्रामा पाइन्छ । के विनयशीलताको प्रदर्शन गर्न ठूलो योग्यता चाहिने हो ? आजसम्म हामीले भेटेका विनयशीलहरू सबै उच्च योग्यताका छन् ? या अग्ला र मोटा छन् ? विनयशीलता त सबै सबै नागरिक बालकदेखि ज्येष्ठ नागरिकसम्म सबैमा हुनुपर्ने होइन र ? नरम स्वभाव आफूले चाहना गर्नेहरूले किन अरूप्रति त्यही कुरा दर्शाउन सक्दैनन् । जसले विनयशीलता दर्शउन सक्दैन उसले अरूबाट त्यस्तो अपेक्षा नगरे पनि त हुँदो हो । आफूमा नम्रताको भावनाहुनु नपर्ने अरूबाट मात्र खोज्नु पर्ने ? कस्तो कोखभित्र यस्ता दुर्मतिहरू जन्मन्छन होला ?
विनयशीलता भएको मानिसले शरीरमा एउटा पनि गहना नलागाएको भए पनि धेरैबाट माया, सद्भाव र सहयोग प्राप्त गर्न सक्छन् । यस प्रकारको चित्र हाम्रो समाजमा देख्न पाइन्छ । हाम्रो समाज र वनपाखा अनौठा जीव जनावर र मानिसले बसोबास गरेर भरिएको छ । धेरैजनालाई आफ्ना कुरा गर्न आउँछ अरूका कुरा सुन्न फुर्सद हुँदैन । त्यस्ता मानिसहरूले आफ्ना भेंडा बाख्राको समेत वयान गरेर थाक्दैनन् तर अरूका हितकारी कुरा समेत सुन्न चाहँदैनन् । कतिपयको नाम नै नम्रता हुन्छ । सुशील भन्ने पनि हुन्छ । सबै नम्रतामा नम्रस्वभाव नहुन सक्छ र सबै सुशीलसंग सितलता नहुन सक्छ । गरम पनासंग विनम्रता अलिक कम पाइन्छ । के हामीले आफ्नो स्वभाव बदल्न सक्दैनौं ? स्वभाव भनेको बदल्न चाहे पछि सजिलै बदल्न सकिन्छ त्यसैलाई जीवनको पुनरलेखन भन्ने गरिन्छ । हुन त कतिलाई जीवनको पुनरलेखन हुँदैन भन्ने पनि लाग्नसक्छ । अवश्य पनि जीवन पुनरलेखन गर्न सकिन्छ । आफूमा भएको खराव स्वभावलाई हटाएर नम्रता कायम गर्नसक्नु खराव आचरणबाट सुवानीको बन्न सक्नु नै जीवन पुनरलेखन गर्नु हो । एक पटक विचार गरौं आफूसंग के कति र के कस्ता खराव आचराणहरू छन् । चाहे खाने पिउने कुरा होस या बचन वा व्यवहारबाट देखाउने कुरा होस या भड्किलो पोशाकको कुरा पनि हुन सक्छ,यसलाई त्याग्न सक्नु नै जीवनको पुनरलेखन गर्नु हो ।
यो कुरा सोह्रैआना सम्भव छ । हामीले सुन्दै आएको एउटा सानो उदाहरण रत्नाकर डाँकुले जीवन पुनरलेखन गरेर वाल्मिकी बनेका हुन् । यस्ता उदाहरण हाम्रो गाउँघरमा प्रसस्त मात्रामा पाइन्छन् ।सबै जनावर मलसाँप्रो जस्ता हुँदैनन् जसले आफूलाई जन्म दिने, हुर्काउने आफ्नै बाबा आमाप्रति हिम्सागर्न उद्यत रहुन् । हुन त विनयशीलता नभएकाहरू जो आकारमा मानिस हुन्छन् उनीहरूबाट यस्तो दुव्र्यवहार प्रसस्त मात्रामा पाउन सकिन्छ । सिधा अर्थमा भन्नु पर्दा मलसाँप्रो जस्तो जनवारमा मात्र होइन कतिपय मानिसहरू पनि मलसाँप्रो प्रवृतिका पाइन्छन् । मात्राको फरकमात्र हो तर केही संख्यामा मानिसहरू भित्र पनि यो गोइलाङ अर्थात मलसाँप्रोको जस्तो व्यवहार देख्न सकिन्छ । सबै मानव देवगणका हुँदैनन् । जो राक्षस गणका हुन्छन् उनीहरूबाट यसप्रकारको प्रवृति पटकपटक पाउनु कुनै अनौठो कुरा होइन । विनम्रता सबैसंग समान नभएपनि केही मात्रामा हुने हो भने हाम्रो समाज सुन्दर र गौरवपुर्ण हुने थियो । जसले आफूलाई आफै बदल्न सक्छु,आफ्नो जीवन पुनर्लेखन गर्नसक्छु भन्ने लाग्दछ भने अवश्य पनि नयाँ वाल्मिकी जन्मन सक्छन् । जुन कुरा आजको टड्कारो आवश्यकता हो । हाम्रो समाज दिनप्रतिदिन भड्खालोमा फसेको महसुस भइरहेको छ । यसबाट पार पाउन पनि विनयशीलता हरेकका लागि अति आवश्यक छ ।