© २०२३
तिलोत्तमा, ३१ वैशाख ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १६ कोटीहवा डाँडाकी मिना कुमारी राना एसी सहितको आरामदायी खोप केन्द्रमा छोरालाई खोप लगाउन पाउँदा निकै खुशी देखिन्छन् । आमाको मन त हो, आफूले दःुख पाए पनि छोराछोरीलाई सुख र सहज होस् भन्ने सबै आमाको मनमा हुन्छ ।
उनका जेठा छोरा रेयान्स अहिले ९ वर्षका भए, कान्छा छोरा आयान्स भर्खर १६ महिनाका छन् । उनले दुवै छोरालाई तिलोत्तमा नगरपालिका वडा नम्बर १६ स्थित मधौलिया स्वास्थ्य चौकीको खोप केन्द्रमा खोप लगाएकी हुन् ।
राना सुस्केरा तान्दै भन्छिन्, “मेरो जेठो छोरा असारमा जन्मेको, त्यो अचाक्ली गर्मी, अनि सबै टोल र वडाभरिका बालबालिकालाई खोप लगाउने एकै ठाँउ कम्ती दुःख थिएन । न बस्ने ठाउँ थियो, पानी आउँदा भिजेर पनि बस्नुपर्ने, गर्मी भएपनि के गर्नु पालो नआए सम्म जसरी भएपनि कुरिरहनुपथ्र्यो ।”
अहिले त स्वाथ्यचौकी त्यहीँ हो की होइन भन्ने जस्तो भएछ । “मेरो सानो छोरा १६ महिनाको छ, भर्खर अघिल्लो महिनामा उसको खोपको मात्रा पूरा भयो । उसलाई खोप लगाउन जाँदा खोप केन्द्र त स्वर्गजस्तै भएको रहेछ”–उनले खुसी हुँदै भनिन्–“ठूलो हल भएकोले बस्ने ठाउँ फराकिलो, बच्चालाई दुध खुवाउने ठाउँपनि भिन्दै व्यवस्था गरिएको, एसीमा बस्न पाउँदा बच्चाले दुःख पनि नदिने ।”
एसी सहितको सुविधा सम्पन्न खोप केन्द्रमा गएर सेवा लिन पाउँदा तिलोत्तमा १६ डाँडाकै रमा अर्याललाई पनि निकै खुशी लाग्यो रे । उनका दुई सन्तान छन् । जेठी छोरी अनिता बस्याल १३ वर्षकी भइन् । जेठी छोरीलाई पाल्पातिरै खोप लगाएको बताउने रमाकी कान्छी छोरी अनुश्री बस्याल ११ महिनाकी छन् । अर्याल भन्छिन्,“कान्छी छोरीलाई खोप लगाउन जाँदा बस्ने ठाउँ र स्वास्थ्यकर्मीले गर्ने व्यवहार असाध्यै मन पर्छ ।”
स्थानीय तहको निर्वाचन नहुँदा नागरिकका गुनासोहरु आइरहने तर त्यसको समाधान गर्न अनेक अवरोधहरु आइरहन्थ्यो । जव २०७४ मा स्थानीय तहको निर्वाचन भयो, त्यसपश्चात तिलोत्तमा नगपालिकामा पनि प्रमुख, उपप्रमुख लगायत वडातहसम्म सबै जनप्रतिनिधिहरु आए । नगर सरकार बनिसकेपछि जनतन निर्वाचित जनप्रतिनिधिहरु एसी सहितको वातानुकुलित कोठाहरुमा बसेर सेवा दिइरहेका थिए ।
तर स्थानीय तहका टोलटोलमा संचालनमा रहेका खोप केन्द्रहरुमा गर्भवती महिला, सुत्केरी आमाहरु, भर्खर जन्मेका नवजात शिशु र बालबालिकाहरु चर्को गर्मीमा पसिनाको धारा छुटाउँदै, बर्षे झरीमा रुझ्दै, पुसे जाडोमा कठाङ्ग्रिदै खोप लगाइरहेको अवस्था थियो ।
“यसलाई सम्बोधन गर्नका लागि हामी स्वास्थ्यतर्फका कर्मचारीहरुले ंसंयुक्तरुपमा कुरा राखिसकेपछि एसी सहितको वातानुकुलित खोपकेन्द्र निर्माणमा नगर सरकार अगाडि बढेको हो”–तिलोत्तमा नगरपालिका वडा नम्बर १६ स्थित मधौलिया स्वास्थ्य चौकी प्रमुख रामेश्वर ढकालले भने । उनका अनुसार सबैभन्दा पहिले वडा नम्बर १६ को मधौलिया स्वास्थ्य चौकीमा दुईवटा एसी जडान गरेर, आमाहरुलाई बस्ने र बालबालिकाहरुलाई स्तनपान गराउने लगायत व्यवस्थित रुपले वातानुकुलित र सुविधा सम्पन्न नमुना खोप केन्द्र निर्माण गरी स्थानीयलाई सेवा प्रवाह सुरु गरिएको थियो ।
तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले वातावरण अनुकुलित सेवा दिने सोच सहित तिलोत्तमा नगर सरकारले आर्थिक वर्ष २०७६।७७ देखि एसीसहितको खोप केन्द्र कार्यक्रम सुरु गरेको बताए ।
शाखा प्रमुख पौडेलका अनुसार नगरभित्र १७ वटा वडामा २८ वटा खोपकेन्द्र रहेका छन् । सबै वडाका बालबालिकाहरुलाई खोप लगाउन आउने समयमा घाम, पानी, धुवाँ र धुलोबाट बचाउनको लागि खोप केन्द्रहरुमा एसी जडान गर्ने निर्णय नगर सभाले गरेको हो ।
जुन वर्ष सुरुवात गरियो, त्यो आर्थिक वर्ष २०७६।७७ मा तिलोत्तमा नगरपालिका वडा नम्बर १६ को स्वास्थ्य चौकीमा मात्र एसी सहितको खोप केन्द्र सञ्चालन कार्य सम्पन्न गरिएको थियो । त्यस पश्चात हालसम्म क्रमशः वडा नम्बर २, १०, १३, १५, १६ र १७ गरी ६ वटामा वातावरण अनुकुलित खोपकेन्द्र सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष २०८०।८१ मा विनियोजन भएको बजेटबाट वडा नम्बर ८ र ११ मा एसी सहितको खोप केन्द्र निर्माण भइरहेका छन् । “चालु आर्थिक वर्ष २०८१।८२ मा वडा नम्बर ६, १६ र १४ मा खोप केन्द्र बनाउँदैछौ”–पौडेलले भने ।
एसी सहितका खोप केन्द्र बनेर सम्पन्न हुँदै गर्दा २८ वटा खोप केन्द्र मध्ये ११ वटा वातावरण अनुकुलित खोप केन्द्र हुनेछन् । बाँकी रहेका १७ वटा खोप केन्द्रहरुका लागि आगामी आर्थिक वर्षहरुमा बजेट बिनियोजन गरी वातावरण अनुकुलित खोपकेन्द्र बनाउने योजनामा रहेको पनि उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिकामा ७ वटा स्वास्थ्य चौकी, ३ वटा शहरी स्वास्थ्य केन्द्र र ७ वटा आधारभूत स्वास्थ्य केन्द्रहरु रहेका छन् । स्वास्थ्य चौकीमा भवनको समस्या देखिदैन तर आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रमा भवनको अप्ठ्यारो अवस्था छ । जहाँ भवन भएका खोप केन्द्र छन् त्यहाँ करिव दश लाख रुपैयाँ लागत खर्चमा वातावरण अनुकुलित खोपकेन्द्र निर्माण गरिएको छ ।
भवन नभएका खोपकेन्द्रमा भवनका लागि पनि थप बजेटको व्यवस्था गरेर करिव २० लाख रुपैयाँ लागत खर्चमा एसी सहितको वातावरण अनुकुलित खोप केन्द्र्र निर्माण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका सबै बालबालिकाहरुलाई खोप लगाउँदा उपयुक्त वातावरण निर्माण गर्ने कार्यमा नगर सरकार प्रतिवद्ध रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।