© २०२३
चन्द्रौटा, ३१ बैशाख ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–७, लालपुर गाउँका कृषक गोविन्द कुमार कुर्मीले विगतदेखि नै परम्परागत तरकारी खेती गर्दै आएको बताए । पछिल्लो केहि महिना अघि पालिकाले सञ्चालन गरेको जीटुजी परियोजना लागु भएपछि हर्षित भएको उनले बताए ।
पालिकाले समूह मार्फत परियोजना अन्र्तगत अनुदान दिइ आत्मनिर्भर बनाउने गरी योजनाले लगानी गरेको समेत उनले जनाए । “सुरुमा लगानी गर्दा राम्रो भयो तर समयमा लगानी नहुँदा केहि सकस भएको थियो” -कुर्मीले भने । तर विगतमा पनि तरकारी खेती गर्दै आएको बताउँदै परियोजना सञ्चालन भएपछि १० कठ्ठा क्षेत्रफलमा व्यवसायिकरुपमा तरकारी खेती गरेको कुर्मीले उल्लेख गरे ।
परियोजना मार्फत करिब १ लाख १० हजार लगानी गरी बन्द गोभी, भिण्डी, बोडी प्याज लगायत तरकारी उत्पादन गरेको बताए । यतिबेला लगानी गरेपनि समयमै पालिकाले लगानी नगर्दा उत्पादनमा ह्रास आएको उनको भनाइ छ । ५ रुपैया केजी गोभी बेच्दा पनि नबिकेको दुखेसो पोख्दै कुर्मीले भने: “किसानले उत्पादन गरेका वस्तुहरुले बजार भाउ नपाउने हो भने जिविका कसरी चलाउने भनि चिन्ता छ ।” कार्यक्रम राम्रो भएपनि यसरी कृषि क्षेत्रमा गरेको लगानी समेत उठाउने अवस्था छ्रैन् ।
अमेरिकी सरकार अन्तर्गत (यूएसएड) को कार्यक्रम जीटुजी परियोजना मार्फत गाउँपालिकाले स्थानीय किसानलाई जोड्ने सपना तुहिएको छ । केहि महिना अघि अमेरिकी सरकारको सहयोगमा विजयनगर गाउँपालिकामा सञ्चालन भएको जीटुजी परियोजना खारेज हुँदा सपना तुहिएको हो ।
गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकामा राम्रो कार्यक्रम रहेको बताए । अमेरिकी सरकार अन्तर्गत (यूएसएड) को कार्यक्रम रहेकोले सरकार परिवर्तनले क्षति पु¥याएको उनले बताए । समग्र कृषि क्षेत्र र कृषक नै लाई आत्मनिर्भर बनाउने बताउँदै पालिकालाई नै नमुना क्षेत्रको रुपमा विकासमा टेवा पुग्ने भएकोले खारेज हुनु दुःखद भएको थापाले जनाए ।
अमेरिका सरकार र नेपाल सरकारबीच (जीटुजी) सम्झौता भइ कृषि परियोजना अन्तर्गत ५ वर्षे कृषि कार्यक्रमबाट पालिकाका २ सय २५ भन्दा बढी कृषकहरूले लाभ लिएको अध्यक्ष थापाले बताए । उनले भनेः ‘गाउँपालिकाले अनुदानमार्फत् कृषकहरूलाई प्रोत्साहन दिने र कृषकको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको थियो । कतिपय स्थानमा किसानलाई अनुदानमा बीउ, सिँचाइका सामग्री, मेसिनरी उपकरणहरू जस्ता आधारभूत सामग्री उपलब्ध गरायौँ तर सो परियोजना फेरि ल्याउने प्रयास गरिरहेका छौँ ।’ अमेरिकी सरकार अन्तर्गत (यूएसएड) र कृषि मन्त्रालयको ५ करोड बजेटको कृषि क्षेत्रमा कृषि क्षेत्रमा आत्मनिर्भर र किसानलाई प्रत्यक्ष लाभ हुनेगरी परियोजना लागू गरेको थियो । परियोजना अन्र्तगत केन्द्र सरकारले स्थानीय सरकारलाई करोडौँ रकम प्रवाह गरी स्थानीय सरकारले किसानलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालन गर्नेगरी शुरुवात गरेको थियो ।
यस्तै अर्का कृषक वडा नम्बर–२ का राजराम भरले परियोजना अन्तर्गत पालिकाको अनुदानमा ८ कठ्ठा जग्गामा मौसमअनुसार विभिन्न तरकारीखेती गर्दै आएको बताए । पालिकाको अनुदानमा कृषि पेशालाई व्यावसायिक रूपमा सुरु गरेको उनले बताए । अनुदान सहयोग पाएपछि हर्षित हँदै कृषिबाट आम्दानी गरेर घरखर्चसँगै छोराछोरीलाई पढाउने खर्च समेत जुटाउन सहज भएको उनले बताए । अनुदान बन्द भएपछि अब घर खर्च कसरी जुटाउने भनी उनीमा चिन्ता छ ।
अर्का स्थानीय किसान राम चन्द्र कहाँरले करिब १० कठ्ठामा तरकारी खेती गरेर उत्पादन गरेका प्याज, बन्द गोभी लगायत वस्तु आफ्नै नस्ता पसलमा खपत गरेको बताए । यो कार्यक्रम प्रभावकारी भएको बताउँदै परियोजना रोकिएपछि असहज महसुस भएको महसुस गरे । उत्पादित वस्तुलाई बजारीकरणको व्यवस्थापन गरिदिए अझै जीवनयापनमा सहजता प्रदान हुने किसान कहाँरको भनाइ छ ।
पालिका कृषि विकास शाखा प्रमुख रामसुन्दर मालीले किसानहरूलाई शतप्रतिशत अनुदानमा बीउ वितरण, अर्गानिक मलमा ८० प्रतिशत अनुदान, भिटामिनमा ८० प्रतिशत अनुदान उपलब्ध गराइएको बताए । उनले भने ः “कृषकहरूलाई आवश्यक मेसिनरी सामग्रीमा ७५ प्रतिशत अनुदान पाउने छन् । जीटुजी परियोजना अन्तर्गत कार्यक्रम विजयनगरको सबै वडाहरुमा सञ्चालित छ ।”
उनका अनुसार लुम्बिनी प्रदेशका ३ वटा पालिका विजयनगर गाउँपालिका, तुल्सीपुर उपमहानगर पालिका र रैनादेवि छहरा गाउँपालिकामा उक्त परियोजनाको कार्यक्रम सञ्चालनमा रहेको थियो । यूएसएड र नेपाल सरकार कृषि मन्त्रालयको आर्थिक सहयोगमा र पालिकाको १ करोड ७१ लाख ७४ हजार रकम गरी ६ करोड ७१ लाख ७४ हजारको लागतमा परियोजना (जीटुजी) कार्यक्रम पालिकाको कृषि कार्यक्रममा ७ वटै वडाहरुमा कृषक समूह बनाई परियोजना सञ्चालन गरिएको थियो । चालु आर्थिक बर्षको साउन महिनाबाट सुरु गरेको कार्यक्रमका लागि पालिकाले खेतीको मौसम अनुसार तथ्यांक लिएको थियो । सोही अनुरुप पालिकाको वटाहरुमा ९ वटा समूह बनेका थिए ।
एउटा समूहमा २५ जनाको संख्या छ । ती समूहको अनुगमन निरीक्षण गर्न पालिकाले कर्मचारी र प्राविधिकसमेत खटाएको छ । पालिकाको कृषि शाखाले उक्त परियोजनामा रहेर विजयनगर गाउँपालिकाको वडा नम्बर–१ र ५ मा अनुदानमा कृषकहरूले मकै पकेट क्षेत्रको रूपमा खेती गरेका छन् । वडा नम्बर २, ४ र ७ मा तरकारी खेती, वडा नम्बर ३ मा धानखेती र वडा नम्बर ६ मा कृषकहरूले अनुदानमा व्यावसायिक माछापालन समेत सुरु गरेका हुन् ।