काठमाडौं, ३० वैशाख।
सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिहरूको सहभागिता हुने भएको छ। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यो जानकारी दिइन्। उनका अनुसार, संवादमा ३ सय ५० जना सहभागी हुनेछन्, जसमा संसदीय उपाध्यक्ष र मन्त्रीहरूको उपस्थिति रहने छ। विशेष रूपमा, विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन बैठकको व्यवस्था गरिएको छ।

सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री राणाले १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। ती कार्यक्रमहरूमा जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद र प्रि–संवाद कार्यक्रमहरू समावेश छन्। तीन दिनसम्म सञ्चालन हुने यो संवाद कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्। परराष्ट्रमन्त्री डा. राणाले कार्यक्रममा पाहुनाहरूलाई स्वागत गर्ने र चिनारियुक्त भिडियो प्रस्तुत गर्ने बताइन्।
यस संवादमा चीन र भारतका प्रतिनिधिहरू, साथै कोप २९ का अध्यक्ष र अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी प्रतिनिधिको सहभागिता रहनेछ। कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तन र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल गर्नु रहेको उल्लेख गरिएको छ।
यस कार्यक्रमको प्रमुख विषयहरूमा १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, लैङ्गिक समानता र जलवायु परिवर्तनका प्रभावहरू रहेका छन्। यो संवाद “जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य” भन्ने नारासहित सञ्चालन भइरहेको छ।




