© २०२३
पाल्पा, ३० बैशाख ।
रामपुर नगरपालिकामा मेलमिलापकर्ताहरूको लागि ३ दिने पुर्नताजगी तालिम सुरु भएको छ । नगरपालिका भित्रका सूचीकृत मेलमिलापकर्ताहरूको लागि शनिबार देखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्नुहुँदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नयाँ नियम कानुन बारे जानकारी नहुँदा विवाद समाधानमा समस्या हुने गरेको बताए ।
मेलमिलापकर्ताहरू नयाँ जारी भएका नियम कानुनबारे जानकार हुनु पर्ने बताउँदै समुदायका अन्य मानिसलाई समेत सचेत गराउन आग्रह गरे। कानुनी सचेतनाको अभावका कारण समाजमा विवाद सिर्जना हुने गरेको भन्दै नगर प्रमुख थापाले कानुन भन्दा माथि कोही नभएको बताए । । विवाद र मुद्दा छलफलको माध्यम बाट समाधान गर्नु आवश्यक रहेको बताए । उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले शान्त र विवाद रहित नगरपालिका निर्माणका लागि सबै मेलमिलापकर्ताहरूलाई पूर्ण जिम्मेवारका साथ लाग्न आग्रह गरिन् ।
उनले वडामा हुने विवादका मुद्दालाई न्यायोचित तवरले निरूपण गर्नु पर्नेमा जोड दिनुभयो । साथै नयाँ जारी भएका नियम कानुन बारे जानकारी गराउन पुनर्ताजगी तालिमको आयोजना गरिएको बताईन् । उनले नगरपालिकामा जग्गा विवाद सम्बन्धी मुद्दा धेरै आउने गरेको भन्दै स्थानीय सरकार, नापी कार्यालय र विषेश नापी टोलीको जग्गा मापनमा एक रूपता नहुँदा समस्या आएको बताईन् ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिका भित्र सूचीकृत मेलमिलापकर्ताहरूले सम्पादन गरेको न्याय निरूपण उदहारणीय रहेको भन्दै थप प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
रामपुर नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीले मेलमिलापकर्ताहरूको सक्रियताले समग्र वडा संगै नगरपालिकाको न्याय निरूपणको अवस्था राम्रो भएको बताए ।
रामपुर नगरपालिका भित्रका सुचिकृत मेलमिलापकर्ताहरूको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता गिता आचार्यले गर्नु गरेकी थिईन् । नगरपालिकाको सभाहलमा न्यायिक समिति सदस्य खेमराज अधिकारी, यायिक समिति सचिवालय सचिव पार्वती परियार लगायतले आ आफ्नो भनाई राखेका थिए ।