© २०२३
सुर्खेत,३० बैशाख ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय अनलाइन मिडियाहरु मनपरि रुपमा चलेको बताएका छन् । मंगलबार युगहाह्वान दैनिकको रजत जयन्ती कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले सबैभन्दा बढी सामाजिक सञ्जाल र अनलाइन मिडिया मनपरि रुपमा चलिरहेको भन्दै यिनलाई व्यवस्थित बनाइनुपर्ने बताए ।
‘समाजमा कसैले राम्रो काम गर्यो भने त्यसलाई खेद्ने काम अहिले मिडियाबाट भइरहेको छ,’ मन्त्री गुरुङले भने, ‘अनलाइन मिडियालाई व्यवस्थित बनाउनुपर्ने छ ।’ सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक जसरी पनि पास गरिने उनको भनाइ छ । प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार लागिपरेको बताए । ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता र अनुशासनहिनता बढ्यो,’ उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’ अनलाइनका कारण साइबर क्राइम बढेको उनले बताए । मन्त्री गुरुङले सरकारी मिडियामा पनि सरकारका गलत कामको बारेमा समाचार लेख्नुपर्ने बताए । सरकारी मिडियाले सरकारको बचाउ मात्र गर्छ भन्ने गुनासो आइरहेको अवस्थामा तथ्यसहित सरकारले गरेका गलत कार्यहरुको पनि मिडियामा ल्याउनुपर्ने बताए ।