© २०२३
गुल्मी, ३० वैशाख ।
खोलामा माछा मार्न गएको अवस्थामा गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन । जिल्लाको छत्रकोट गाउँपालिका –२ दाँइछाप बुटिलगाँउ निवासी ४५ वर्षीय ज्ञान बहादुर राकस बडिगाढ खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन ।
राकसको शव मंगलबार बिहान जिल्लाको छत्रकोट गाउँपालिका –१ बोटेगाउँको रेग्दी छहरा स्थित बडिगाढ खोलाको किनारमा घोप्टो अवस्थामा मृत फेला परेको थियो । सोमबार अपरान्ह घरबाट माछा मार्न भनि खोलामा गएका राकस राती अबेरसम्म पनि घरमा नफर्केपछि परिवारद्वारा उनको खोज तलास गरिएको थियो ।
चन्द्रकोट गाउँपालिका –७ का स्थानीय जिवन माझीले मंगलबार बिहान अचानक खोलामा घोप्टो परेको अबस्थामा शव देखेपछि प्रहरीमा जानकारी गराएका हुन । घटनाको जानकारी पाएपछि श्रृङ्गा र रिडीबाट प्रहरी टोली घटना स्थलमा पुगिसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सोमबार मध्यान्हपछि गुल्मीमा हावाहुरी सहित भिषण वर्षाद भएको थियो ।