© २०२३
लमही, ३० बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्य ‘किरण’ले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आएमात्रै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने बताए । पार्टीको ४ नम्बर व्यूरो (राप्ती) ले घोराही १५ रतनपुरमा बैद्यकी आमा स्वर्गीय जानकादेवि उपाध्याय वैद्यको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका महासचिव ‘किरण’ ले क्रान्तिकारी शक्तिहरू एक भएमात्रै समाज रूपान्तरणको अभियान सुदृढ हुने बताए ।
स्वर्गीय जानकाका जेठा छोरा वैद्यले भने, ‘क्रान्ति अझै अँधुरो छ । कम्युनिस्ट आन्दोलनमा विभाजन छ । संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने महान अभियान पुरा गर्न सबै कम्युनिस्ट शक्तिहरू एकतावद्ध हुनुपर्छ । ’ वैद्यले आमाले आफूहरूलाई रूपान्तरणको लागि प्रेरणा दिएको बताए । वैद्यले पञ्चायती दमन, जनयुद्धकालीन समयमा आमाबाट धेरै सहयोग र समर्थन प्राप्त भएको बताए । आमाले परिवारलाई रूपान्तरणको लागि अभिप्रेरित गरेको बताए ।
किरणकी आमा जानकादेवी वैद्य उपाध्यायको जन्म वि.सं. १९८३ पौष १५ गते अर्घाखाँची जिल्लाको अर्जुन अमलाचौरमा भएको थियो । उनको मृत्यु २०८२ बैशाख २४ गते भएको हो । कार्यक्रममा जानकादेवीका कान्छा छोरा मधुसुदन वैद्य र कान्छी छोरी रमा पोख्रेलले आमाको बारेमा विस्तृत जिवनी प्रस्तुत गरेका थिए । कान्छा छोरा मधुसुदनले भने, ‘आमाले हामीलाई जन्म दिनुको साथै अत्यन्त कठोर परिश्रम र निकै दुःख कष्ठका साथ हाम्रो लालनपालन, अध्ययन व्यवस्थापन, संरक्षण, अभिभावकत्व तथा मातृवात्सल्य प्रेमले अभिसिंचीत गर्दै सामाजिक रूपान्तरणको मार्ग तथा साम्यवादको उदत्त आदर्श प्राप्तिको दिशामा सक्दो साथ सहयोग दिदैं आउनुभयो । मृदुभाषी, विनम्र, दयालु, सहनशिल तथा हक्की स्वभावकी हाम्री आमा आफ्नो संघर्षमय जिवनको करिव सय वर्षको ऐतिहासिक यात्रा पुरा गरि हामी सबैलाई विछोडमा पारि यहि वैशाख २४ गते बेलुकी साढे ५ बजे आफ्नै निवासमा मृत्युवरण गरे ।’
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलीटव्यूरो सदस्यहरू चन्द्रहरि सुबेदी ‘अटल’, क्रान्तिकारी महिला संघका अध्यक्ष अम्वीका मुडवरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार पिताम्बर आचार्य, नेकपाका पोलिटव्यूरो सदस्य सञ्जीव कुमार झाँक्री, नेकपा बहुमतका स्थायी समिति सदस्य अनन्त केसी, नेकपा एमालेका नेता शम्भु गौतम, नेकपा मसालका प्रवक्ता भरत भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुसिल गौतम लगायतको श्रद्धाञ्जली सभामा सहभागीता थियो ।