दाङ , २९ बैशाख ।
दाङको घोराही उपमहानगरपालिका क्षेत्रबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका-१४, मिलनचोकस्थित रोडमा संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । वडा प्रहरी कार्यालय, घोराही दाङबाट खटिएको टोलीले शंका लागेर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्तीमा रातो प्लाष्टिकको साना ३ वटा पुडियामा धागोले बाँधेर राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो। उक्त पदार्थको तौल प्लाष्टिकसहित १ ग्राम रहेकोमा शुद्ध तौल ६७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी घोराही उपमहानगरपालिका-१३, आनन्दनगर टोल बस्ने अन्दाजी ५७ वर्षीया नितु आचार्यलाई प्रहरीले लागुऔषध कारोवारको आरोपमा पक्राउ गरेको छ। आचार्यको घरमा ट्रामाडोल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा उनको भान्सा कोठामा लुकाइ राखेको २ पत्ता (२० क्याप्सुल) ट्रामाडोल फेला पारेको हो। दुबै घटनामा संलग्न पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।