Butwal Today

लुम्बिनी : बुद्ध जन्मको गौरवगाथा र विश्वशान्तिको प्रेरणा

२९ बैशाख २०८२, सोमबार
अ+
अ-

शान्तिको खोजीमा व्यस्त यो संसारमा जब जब मानवता डगमगाउँछ, तब बुद्धको सन्देश झल्किन्छ दया, करुणा र मध्यम मार्गको मार्गदर्शनस्वरूप। आजभन्दा हजारौं वर्षअघि, जब पृथ्वीमा अन्याय, हिंसा र भौतिक लालसाले मानव मनलाई आक्रान्त गरिरहेको थियो, तब एक यस्तो चेतनाको ज्योति उदायमान भयो जसले एउटा राष्ट्र होइन, सम्पूर्ण मानव जातिलाई मार्गदर्शन गर्यो। त्यो ज्योति थियो सिद्धार्थ गौतम बुद्ध र, त्यो दिव्य ज्योतिको प्रारम्भ भयो नेपालको पवित्र भूमि लुम्बिनीमा।

लुम्बिनी कुनै सामान्य ठाउँ होइन। यो त्यस्तो भूमि हो, जहाँको आकाशले एक दिव्य आत्माको पहिलो स्वर सुनेको थियो; जहाँको माटोले ती सन्तका पाइला स्पर्श गरेको थियो, जसले संसारलाई ‘शान्तिको बाटो यही हो’ भनेर देखाए। यो त्यो भूमि हो जसले इतिहास सिर्जना गर्यो धर्म, दर्शन र मानवता सँगै बोकेर।

हजारौँ वर्ष पहिले, लुम्बिनी प्रदेशअन्तर्गतको कपिलवस्तुमा एक शाक्यवंशी राजा थिए शुद्धोधन। उनको विवाह देवदहकी राजकुमारी मायादेवीसँग भएको थियो। विवाहपछि लामो समयसम्म सन्तानको प्रतिक्षा गरिरहँदा अन्ततः जीवनमा आशाको किरण तब चम्कियो, जब रानी मायादेवीले एक रात सपनामा सेतो हात्तीलाई देखिन् कमलको फूल चढाउँदै र देवीको गर्भमा प्रवेश गर्दै। यही रहस्यमय सपना एक आध्यात्मिक भविष्यको संकेत बन्न पुग्यो।

विवाहको करिब २० वर्षपछि र रानीको ५५ वर्षको उमेरमा जन्मिन आइपुगे एक यस्तो बालक, जसले सम्पूर्ण युगलाई परिवर्तन गरे। त्यस दिव्य बालकको आगमन वैशाखको पूर्णिमाको बिहान, लुम्बिनीको शान्त वनभित्र भयो जहाँ अहिले पनि मायादेवी मन्दिर, अशोक स्तम्भ, र पूजित पुष्करिणी पोखरीले ती ऐतिहासिक स्थानहरु संरक्षित छन।

सपनाबाट सुरु भएको अध्यात्मिक यात्रा

एक रात महारानी मायादेवीले सपनामा सेतो हात्तीले कमलको फूल चढाएको देखिन्। यो सपना अत्यन्त शुभ मानिएकोले राजा शुद्धोधनले त्यसलाई दिव्य संकेतको रूपमा लिए। यही रात गर्भधारण भएको विश्वास गरिन्छ।विवाहपछि २० वर्षमा यस्तो दिव्य अनुभूति हुनु शाक्य वंशका लागि विशेष रह्यो।

बुद्धको जन्म र लुम्बिनीको दिव्यता

महिना वैशाखको पूर्णिमाको दिन थियो। मायादेवीले माइती देवदह जानको लागि राजासँग अनुमति मागिन्। यात्राको क्रममा लुम्बिनी वन पुगेकी रानीले त्यहाँ विश्राम गर्दै, पुष्करिणी पोखरीमा स्नान गरिन्। यही स्थानमा, सिरसिर हावा चलिरहेका बेला, बिहानपख उनले रुखको हाँगो समाएर सिद्धार्थ गौतमलाई जन्म दिइन्। जन्मेपछि बालकले सात पाइला कमलको फूलमा टेकेर हिँडेको, हात उठाएर औँलो ठाडो पारेको, आकाशबाट पुष्पवर्षा भएको र दिव्य तेज प्रकट भएको जनविश्वास छ। यसैले उहाँको जन्म मात्र एक शारीरिक घटना नभएर अध्यात्मिक र सांस्कृतिक क्रान्तिको सुरुवात पनि थियो।

जन्मको पाँचौं दिन भव्य पूजाआजा गरी राज पुरोहितहरूद्वारा बालकको नाम ‘सिद्धार्थ गौतम’ राखियो। पुरोहितहरूले भविष्यवाणी गरे कि यस बालकले संसारलाई नयाँ ज्ञान दिनेछ, वैभव होइन सत्य र शान्तिको बाटो रोज्नेछ। तर दुर्भाग्यवश, जन्मको सातौं दिनमै रानी मायादेवीको निधन भयो।

बुद्धत्व प्राप्तिको यात्रा

राजकुमार सिद्धार्थले बाल्यकालदेखि नै जीवनको दुःख, पीडा र विषमताको गहिरो अनुभूति गरे। आमाको माया नपाउनु, भौतिक वैभवले मन नअग्नाउनु, र संसारको सत्य खोज्ने उत्कट चाहनाले उनलाई घर त्याग्न बाध्य बनायो। अन्ततः वैशाख पूर्णिमाकै दिन बोधगयामा ज्ञान प्राप्त गर्दै बुद्धत्व प्राप्त गरे।

बुद्धको महापरिनिर्वाण र महत्व

बुद्धको परिनिर्वाण भारतको कुसिनगरमा वैशाख पूर्णिमाकै दिन भएको थियो, धेरै वर्ष पहिले। त्यसैले वैशाख पूर्णिमा बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सन्देश बोकेको अद्वितीय दिन हो, जसलाई बौद्ध समुदाय मात्र होइन, संसारभरिका बौदिष्ट र शान्तिप्रेमीहरूले विशेष महत्वका साथ राष्ट्रिय उत्सवका रुपमा मनाउँछन्।

विश्वभर बुद्धको शिक्षालाई सम्मान गरिँदा र बिश्वशान्तिको प्रेरणा मानिरहदा युनाइटेड नेशन्सले समेत बुद्ध जयन्तीको दिनलाई अन्तर्राष्ट्रिय बिदा घोषणा गरिसकेको सन्दर्भमा, नेपालले भने अझै बुद्ध संवतलाई राष्ट्रिय संवतको रूपमा स्वीकृति दिएको छैन। यस कुराले बुद्ध जन्मभूमिको हैसियत बोकेको राष्ट्रको हैसियतमा विमर्श आवश्यक छ।

लुम्बिनी एउटा ऐतिहासिक स्थल हो, यो मानव सभ्यताको उज्यालो प्रतीक हो। गौतम बुद्धले दिएको शान्ति, करुणा र सत्यको सन्देश आज पनि सान्दर्भिक छ। नेपालले बुद्धको गौरवलाई संस्थागत रूपमा मनाउने, बुद्ध संवतलाई राष्ट्रिय संवतका रूपमा स्थापित गर्ने र लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिका केन्द्रको रूपमा प्रवर्द्धन गर्ने आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?