© २०२३
काठमाडौं, २९ वैशाख ।
भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतासँगै भारतले अस्थायी रूपमा बन्द गरेका सबै ३२ विमानस्थलहरू सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ। जम्मु–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २६ पर्यटकको हत्या भएपछि भारतले मे ७ मा ती विमानस्थलहरू सुरक्षाका कारण बन्द गरेको थियो।
ती विमानस्थलहरू मे १५ को बिहान ५:२९ बजेसम्म बन्द रहने सूचना दिइएको थियो। तर, सो अवधिमा नै भारत–पाकिस्तानबीच युद्धविराममा सहमति भएपछि भारतीय विमानस्थल प्राधिकरणले विमानस्थलहरू खोल्ने निर्णय गरेको हो।
प्राधिकरणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सबै विमानस्थलहरूबाट उडानहरू सुचारु गरिएको जानकारी दिएको छ। साथै यात्रुहरूलाई सम्बन्धित एयरलाइन्समार्फत आफ्नो उडानसम्बन्धी जानकारी लिन आग्रह गरिएको छ।
इन्डिगो एयरलाइन्सले पनि सामाजिक सञ्जाल एक्समार्फत ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानका लागि खुला गरिएको पुष्टि गरेको छ। युद्धको आशंका छर्लंग हुँदै गइरहेको समयमा आएको यो निर्णयले यात्रुहरूलाई राहत दिएको छ भने क्षेत्रीय स्थायित्वतर्फ सकारात्मक संकेतसमेत देखिएको छ।