© २०२३
बुटवल, २९ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हालै झण्डै झगडाको अवस्था सिर्जना भए पनि दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको खुलासा गरेका छन्। बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनीमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरूबीचको तनाव चुलिन नदिन नेपालले सन्देश दिएको बताए।
“भर्खरै केही दिनअघि भारत र पाकिस्तानबीच झण्डै हात हालाहालको स्थिति बनिसकेको थियो,” प्रधानमन्त्री ओलीले भने, “हामीले सुरुदेखि नै भन्यौं—विस्तार हुन नपाओस्, लडाइँमा परिणत नहोस्। उहाँहरूसँग कुराकानी गर्यौं र उहाँहरूले पनि लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो।”
प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको सन्देश झल्किँदै भारत–पाकिस्तानबीचको पछिल्लो घटनालाई उदाहरण दिए। बुद्धको देशबाट आएको संयमता र सम्वादको सन्देश आज पनि संसारभर सान्दर्भिक रहेको उनले बताए।
लुम्बिनीलाई विश्व शान्तिको सन्देश दिने स्थलका रूपमा चित्रण गर्दै ओलीले बुद्धका आदर्श र शिक्षालाई अध्ययन र अनुसन्धानमार्फत अझ फैलाउनु पर्नेमा जोड दिए। यसका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अग्रसर बन्न आग्रह गरे।
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले हालै लुम्बिनीमा निर्माण गरिएको ५ हजार क्षमताको सभा हलबारे पनि टिप्पणी गरे। “हाम्रो पहलमा यो हल बनेको हो,” उनले भने, “तर, ध्वनि प्रणाली ठीक छैन, तुरुन्त सुधार गर्नुपर्छ।”
उनले सभामा बहुभाषिक अनुवाद सुविधा र आधुनिक प्रविधिको प्रयोग गर्नसमेत निर्देशन दिए। लुम्बिनी गुरुयोजना अन्तर्गतका काम छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे।