© २०२३
चन्द्रौटा, २९ बैशाख ।
“मेरो घर सितलापुर हो । लालपुर गाउँमा हेल्थ पोष्ट छ । यहाँको सेवा सुबिधा लगायत कृष्णनगर हाटबजार जान बर्षातको मौसममा समस्या हुने गरेको छ । सरकारले करोडौँ लगानी गरेपनि ठेकेदारको लापरवाहीका कारण निर्माणकार्य अलपत्र परेको छ ।” स्थानीय मंगलिराम कुर्मीको गुनासो हो यो । पानी परेको बेला बाढी आयो भने वारीपारी गर्न चन्द्रौटा हुँदै जानुपर्ने बाध्यता रहको उनी बताउँछन् । कञ्चनिया पुल बने सहज हुनेथियो उनले भने पुल नबनेर नागरिकलाई सास्ती दिने काम भयो ।
मंगलिराम कुर्मी
स्थानीय,
कपिलवस्तुको सितलापुर–लालपुर जोडने कन्चनिया पुल निर्माणको कार्य बर्षौँदेखि बन्न सकेको छैन । शिवराज नगरपालिका वडा नम्बर–१० मा पर्ने कन्चनिया खोलामा विगत ६ बर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको हो । यसरी सरकारले करोडौँ लगानी गरेका विकास निर्माणका संरचनाहरू अलपत्र परेपछि स्थानीयलाई सास्ती हुने गरेको उनीहरू बताउँछन् ।
अर्का स्थानीय राम बेलास लोनियाले खोलामा पुल निर्माण नहुँदा आवतजावत गर्न सास्ती भएको बताए । खोलामा पुल निर्माण कार्य समयमै सम्पन्न नभएपछि आफूहरूलाई विद्यालय वारपार गर्न असहज भएको जनाए । यो खोला तरेर हजारौँ नागरिक आवतजावत गर्ने हुँदा जतिसक्दो निर्माणमा सम्बन्धित निकायको ध्यान जाओस् भन्दै उनले अनुरोध समेत गरे । ठेकेदार पक्षको ढिलासुस्ति र लापरवाहीले समयमा काम हुन नसक्दा नागरिकहरूलाई समस्या हुने गरेको बताउँछन् । बर्षाैदेखिको अधुरो रहेको पुल यथाशीघ्र बन्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।
राम बेलास लोनिया
स्थानीय
विजयनगर गाउँपालिकादेखि बुद्धभूमि नगरपालिका जोड्ने पुलको निर्माण कार्यमा ढिलासुस्ती हुनु विडम्बना भएको लोनियाले जनाए । ठेकेदारले समयमै काम नगर्दा नागरिकलाई असहजता भएको बताउँदै निर्माण कार्य सञ्चालन गरेमा स्थानीयले समेत सहयोग गर्ने उनको भनाइ छ । दिनहुँ हजारौं यात्री सयौँ सवारी साधन गुड्ने खोलामा पुल सहज माध्यम रहेको उनले बताइन् । आवतजावतमा समस्या भएको शिवराज नगरपालिका वडा नम्बर १० कि वडा अध्यक्ष मञ्जु मिश्रले उल्लेख गरिन् ।
हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका इन्जिनीयर पवित्रमणी आचार्यले समयमै काम गर्ने ठेकेदारलाई प्रोत्साहन गर्दै आएको बताउँछन् । उनले सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नभए निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याइ ठेक्का रद्द गर्ने समेत बताए । ठेक्का सम्झौता अनुसार काम सम्पन्न गरेर कागजपत्र पेश गरे सरकारी भुक्तानीको समस्या नरहेको बताए । पुलको निर्माण कार्य २०७६ फागुन १८ गते सम्झौता भएर २०७९ भदौ १६ गते सम्पन्न गर्ने गरी ८ करोड ९८ लाख १६ हजारमा सिरुवा कन्स्ट्रक्सन प्रा.लि.ले जिम्मा पाएको थियो । पुलको लम्बाई ४१ मिटर, ११ मिटर चौडाई रहेको छ । उक्त पुल निर्माणको काम ५८ प्रतिशत बजेट निकास भएको योजना कार्यालयले जनाएको छ ।
मञ्जु मिश्र
अध्यक्ष
वडा नम्बर १०,शिवराज नगरपालिका ।
यता कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक सन्तोष (ऋषिराम) ढुंगानाले सम्झौता अनुसार निर्माण काम गर्न नसकेको स्वीकार गरे । काम सुरु भएको बेला कोभिड, आर्थिक मन्दी, मेट्रियल लगायत अभाव, सरकारी भुक्तानी जस्ता समस्याका कारण समयमै काम गर्न नसकेको उनी बताउँछन् । २०८१ चैत १८ गतेसम्म तेस्रो पटक म्याद थपेर पुनः सम्झौता भइ निर्माण कार्य सुरु भएपनि हाल थप्पा रहेको छ ।