© २०२३
बुटवल, २९ बैशाख ।
क्रिकेट खेलको विकास र खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ बुटवलमा उज्वल युवा क्लब नकआउट क्रिकेट कप २०८२ शुरु भएको छ । बुटवल उपमहानगरपालिका र वडा नं १६ को सहयोगमा उज्जवल युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सोमबार प्रतियोगिताको उद्घाटन गर्दै खेल पुर्वाधारमा स्थानिय सरकार लागेको बताए । युवाहरुको क्रिकेटप्रतिको क्रेजलाई मध्येनजर गरि पुर्वाधारमा जोड दिएको बताए । नरेनापुरको क्रिकेट मैदान बनाउन पालिकाबाट ७० लाख रकम बजेट बिनियोजना गरेको भन्दै थप ५ करोड संघ सरकारबाट सहयोगको आश्वासन पाएको समेत बताए । यो सहित बुटवलमा अरु पनि क्रिकेट मैदान बनाउने उनले बताए । ‘बुटवलमा ३ वटा क्रिकेट मैदान बनाउने योजना छ ।’–उनले भने ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, कार्यपालिका सदस्य बसन्ती धमाल, नवरत्न विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद पौडेल, पूर्व वडाअध्यक्ष तिलक प्रसाद सापकोटा, नरेनापुर मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेलले युवामैत्री पूर्वाधार र खेल प्रतियोगिताको महत्वबारे प्रकाश पारे ।
यसैबिच नरेश्वर खेलमैदानमा सोमबार भएको उद्घाटन खेल आयोजक उज्जवल युवा क्लब विजयी भएको छ । उज्जवलले गोलपार्क क्रिकेट क्लबलाई २ बिकेटले पराजित गरेको हो । यसैगरि दोस्रो खेल ईलिट जेआर क्लबले सैनामैना नगरपालिकालाई १२८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको ईलिट जेआरले १६ ओभर खेल्दै २११ रनको विशाल लक्ष्य खडा गरेको थियो । जेआरका रुपेश कुर्मीले शानदार शतक पुरा गरे । उनले १०५ रन तथा शिवशंकरले ५२ रन बनाए । सैनामैनाका सूर्य पाण्डेले ३ तथा बिक्रम गोपालले २ बिकेट लिए । विशाल लक्ष्य पछ्याएको सैनामैना १५ ओभरमा ८३ रनमा समेटियो । सैनामैनाका युवराज जिसीले २० र अरुण पाण्डेले २२ रनबाहेक अन्य ब्याट्सम्यान क्रिकेटमा टिक्न सकेनन । उज्जवलको जितमा तुल बहादुर थापाले ३ बिकेट तथा धिरु यादवले २ बिकेट लिए ।
खेलमा जेआरका रुपेश कुर्मी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित ट्रफी र मेडल, उपविजेताले नगद २५ हजार ५ सय २४ नगदबाट पुरस्कृत हुने क्लबका अध्यक्ष पंकज शर्मा गौतमले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ३३३ रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई समान १ हजार ५५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्रदान गरिने सचिव विवेक आचार्यले जानकारी दिए ।
मंगलबार पहिलो खेल बुटवल युथ र बेष्ट्रन क्रिकेट क्लब तथा दोस्रो खेल बुटवल–१९ र सृजना युवा क्लबका बिचमा खेल हुने क्लबका उपाध्यक्ष तथा खेल संयोजक केदार पौडेलले बताए ।