© २०२३
काठमाडौं ।
राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई सुकेधाराबाट पक्राउ गरिएको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार बस्नेतविरुद्ध पहिल्यै पक्राउ अनुमति लिइएको थियो, तर उनी फरार रहेका थिए।
तीनकुनेमा भएको सो प्रदर्शन अत्यन्तै हिंसात्मक बनेको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो भने सयौँ प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए। त्यस्तै सरकारी र निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनी समेत गरिएको थियो। घटनापछि अनुसन्धान थालेको प्रहरीले हालसम्म ५३ जनालाई हिरासतमा राखेको छ भने हाजिरी जमानीमा छुटेकाहरूमाथि पनि मुद्दा दायर गर्ने तयारी भइरहेको जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्नमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, र संगठित अपराध जस्ता गम्भीर अभियोग लगाएर कानुनी प्रक्रिया अघि बढाइनेछ। यस क्रममा अन्य फरार अभियुक्तको पनि खोजी जारी रहेको छ।