© २०२३
बाँके,२८ बैशाख ।
बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय नेपालगन्ज मार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । पाझा गाउँमा डुडुवा गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गरेका छन् । बाँके जिल्ला कै सबै भन्दा बढी प्रभावित क्षेत्र अन्र्तगत रहेका गाउँका बाढीपिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताए । उनले आकस्मिक भवनले स्थानीयलाई विपदको वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताए ।
पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर (संरचना) मात्र बन्ने छ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकीले बताए । उनका अनुसार ठुलो हल, दुई कोठा, शौचालय, भान्सा निमार्ण हुनेछ । रु १ करोड १८ लाख ९७ हजार ५ सय ५५ को लागतमा सञ्जय निमार्ण सेवा हेटौडाले २०८२ असार १५ गतेसम्म निमार्ण गर्ने गरी सम्झौता भएको इन्जिनियर बुढाथोकीले बताए ।
शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वार्ड नं. २ का अध्यक्ष दुर्गाप्रसाद बर्मालगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले बाढी प्रभावितहरुका लागि करिब आधा दर्जन आश्रय स्थल निमार्ण गरिसकेको छ भने जनताको सहजताको लागि अझ थप आश्रयस्थल निर्माण गर्न जोड दिएको छ । बर्खाको समयमा बाँँकेको डुडुवा गाँउपालिकामा सबभन्दा बढी डुवान हुने बस्ती समेत रहेका छन् ।