© २०२३
भारत र पाकिस्तान विवादित जम्मु काश्मिर सिमा रेखामा युद्धमोर्चामा होमिँदा सारा विश्व चिन्तित वनेको थियो । यो युद्धको बाछिटाले विश्वलाई प्रभावित वनाउने निश्चित थियो । तर भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ जुन स्वागतयोग्य छ । युद्धका कारण दुवै देशलाई मात्रै होइन छिमेकी मुलुकलाई समेत ठूलो मानबीय तथा भौतिक क्षति गर्ने भएकोले विश्व शान्तिको कामना गर्नेहरूका लागि यो गंभीर चिन्ताको विषय थियो । युद्धले कुनैपनि देशको हित गर्दैन । दुई देशका तर्फबाट अहिले एक अर्को देशप्रति मिसाइल र क्षेप्यास्त्र आक्रमण भएको थियो त्यो अहिले रोकिएको छ । अहिलेसम्म युद्धबाट दर्जनौंको हताहती भैसकेको छ । यो युद्धले दक्षिण एसियामा लाखौँ नागरिकको मनमा भय, शंका र त्रासको आँधी ल्याएको थियो । भारतले यो कदमलाई कुनै विशिष्ट ‘सर्जिकल स्ट्राइक’ का रूपमा चित्रित गरेपनि वास्तविकतामा यो शक्ति प्रदर्शनमात्रै होइन, पाकिस्तानलाई निस्तेज पार्ने प्रयास थियो ।
उता पाकिस्तान पनि भारतको पछिपछि युद्धमा सामेल भएको थियो । दुवै देशले युद्ध चाहेको प्रतीत हुनु चिन्ताको कुरा हो । दुई देशबीच युद्धको अवस्था सिर्जना हुँदा नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका थिए त्यो अहिले हटेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति नेपालले समेत चिन्ता व्यक्त गरेको छ । नेपालले सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतंकवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो । आफ्नो सैद्धान्तिक अडान अनुरूप नेपालले कुनैपनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन् ।
दक्षिण एसिया दिगो शान्ति र स्थायित्वका लागि नेपालले गरेको प्रतिबद्धता महत्वपूर्ण छ । किनभने युद्धले कुनैपनि देशको हित गर्दैन । भारत पाकिस्तान युद्ध तेश्रो विश्व युद्धमा परिणत हुने त होइन भन्ने चिन्ता थपिएको थियो । आतंकबादी घटना निन्दनीय छ, अतिवाद र आतंकवाद मानवताका शत्रु हुन । शान्तिको कुनै विकल्प हुँदैन, युद्धको कुनै भविष्य हुँदैन । त्यसमाथि विश्व शान्तिका दुत महामानव गौतमबुद्ध जन्मिएको देशले सदा शान्तिकै वकालत गर्छ । अव दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऔँ । त्यसमा भारत र पाकिस्तानको प्रतिवद्धता जरुरी छ । अहिले दुवै देशले युद्धविराम गरेका छन् । भारत र पाकिस्तान युद्धको मोर्चामा होमिईरहँदा त्यसको असर नेपालमा पनि पर्ने निश्चित थियो । तसर्थ नेपाल सरकारले नेपाल भारत सिमा क्षेत्रमा अहिले गरिरहेको कडाई स्वाभाविक थियो ।
बुद्ध जन्मभूमिको परिचयले हामीलाई बौद्धिक दायित्व पनि दिएको छ, जहाँ हामी तटस्थ भईकन पनि सत्यको पक्षमा उभिन सक्छौं । नेपालले महामानव गौतमबुद्धको भूमिबाट दुवै देशलाई अब युद्ध होइन, संवाद गर्न सुझाव दिनु जरुरी छ भन्ने सन्देश दिएको छ । त्यसैपनि दक्षिण एसियामा पहिले नै गरिबी, बेरोजगारी, स्वास्थ्य संकटजस्ता समस्याले जनजीवन आक्रान्त छ । त्यसमाथि बारुदको खेलले यी समस्यालाई अझ भयावह बनाउनेछ । यो कुरा भारत र पाकिस्तानले बुझ्नपर्दछ । भारत–पाकिस्तानबीच युद्ध हुनु र त्यो पनि आणविक शक्ति सम्पन्न देशबीच युद्ध हुनु राम्रो होइन, यसले विश्वलाई नै चिन्तित वनाएको थियो । विश्वका नेताहरूले पनि युद्धबाट होइन शान्ति र बार्ताबाट निकास खोज्न दुवै देशलाई आग्रह गरिरहेका बेला दुई देशले युद्धविराम गरेका छन् । युद्धले बिनास निम्त्याउँछ, तसर्थ वार्ता र सहमतिबाटै द्वन्द्वको समाधान खोज्न आवश्यक छ ।