© 2026
काठमाडौं, २८ वैशाख ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से सूचक १२.५३ अंकले घटेर २६४९.११ बिन्दुमा झरेको हो, जुन ०.४७ प्रतिशतको गिरावट हो।
आजको कारोबारमा ३ सय वटा धितोपत्रमा ८८ हजार ९ सय ५५ पटक कारोबार हुँदै २ करोड ४० लाख कित्ता सेयर किनबेच भयो। कुल कारोबार रकम १० अर्ब २० करोड रुपैयाँ नाघेको छ।
उपसूचकहरूतर्फ हेर्दा होटल तथा पर्यटन समूहमा ६.५० प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। त्यस्तै, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहमा पनि केही वृद्धि देखिएको छ। तर बाँकी अधिकांश उपसूचकमा गिरावट देखियो।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सेयर मूल्य आज १० प्रतिशतले वृद्धि भई क्रमशः २४५७.६० र २०३१.७० रुपैयाँ पुगेका छन्। यस्तै, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, र ओम मेगाश्री फर्मास्युटिकल्सका सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेका छन्।
अर्कोतर्फ, आज सबैभन्दा धेरै घाटा सिन्धु विकास बैंकका लगानीकर्ताले व्यहोरेका छन्, जसको मूल्य ६.४५ प्रतिशतले घटेर ८२५ रुपैयाँमा झरेको छ। गुह्येश्वरी मर्चेन्ट, सिनर्जी पावर, र एचआईडीसीएल लगायतका कम्पनीहरूको सेयर मूल्य पनि उल्लेखनीय रूपमा घटेको छ।