© २०२३
काठमाडौं ।
दक्षिण कोरियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका गुनासोहरू बढेसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) जारी गर्ने प्रक्रिया अर्को व्यवस्था नआएसम्मका लागि स्थगन गरेको छ। मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालका अनुसार, कोरियामा अध्ययन गर्न गएका विद्यार्थीहरूले भोगिरहेको समस्या र दूतावासमार्फत प्राप्त प्रतिवेदनको आधारमा तत्कालका लागि एनओसी रोकिएको हो।
दूतावासले कोरियामा नेपाली विद्यार्थीहरू दिनदिनै समस्यामा पर्दै गएको जनाएको छ, विशेषगरी डी–२ र डी–४ भिसामा अध्ययन गर्न गएकाहरू बढी प्रभावित देखिएका छन्। कन्सल्टेन्सीहरूले विद्यार्थीलाई कोरिया पुग्नेबित्तिकै काम गर्न पाइने झुटो आश्वासन दिने, अवैधानिक कामको प्रलोभन देखाउने र विश्वविद्यालय छनोटमा समेत लापरवाही गर्ने गरेको खुलासा भएको छ।
डी–४ भिसामा जानेलाई भाषा अध्ययन सकिएपछि कुन विश्वविद्यालयमा भर्ना हुने भन्ने कुरा सुनिश्चित नगरी पठाइने, कालोसूचीमा परेका वा कम स्तरका विश्वविद्यालयमा आवेदन दिन लगाउनेजस्ता समस्याले विद्यार्थीहरू मानसिक तनाव र शोषणको शिकार बन्ने गरेका छन्।
साथै, अत्यधिक शुल्क असुली, बारम्बार पैसा उठाउने, र कोरियामा रहेका एजेन्टहरूबाट थप रकम झिक्ने जस्ता गतिविधिका कारण विद्यार्थीहरू आर्थिक र मानसिक रूपमा समेत अप्ठ्यारोमा परेका छन्। यी सबै गुनासोका आधारमा दूतावासले मन्त्रालयलाई सतर्क गराएपछि एनओसी स्थगन गर्ने निर्णय गरिएको हो।