© २०२३
जितपुर, २८ बैशाख ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणको तयारी तीव्र बनाएको छ । पालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माणको कार्यहरूलाई तिव्रता दिएको हो । नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा नीति तथा कार्यक्रम निर्माण समिति गठन गरिएको छ । समितिमा नगर उपप्रमुख रिता कुमारी चौधरी, विषयगत समितिका संयोजकहरू, शाखा प्रमुखहरू सदस्यको रूपमा रहनेछन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी सदस्य सचिवका रूपमा रहनेछन् ।
बाणगंगाका नगर प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले शनिबार बसेको कार्यपालिकका बैठकबाट नीति निर्माण प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले नगर प्रमुख अर्यालको संयोजकत्वमा बनेको समितिले नगरको आवश्यकतालाई समेट्ने गरी नीति निर्माणमा सरोकारवालासँग पनि परामर्श गर्ने बताए । कार्यपालिकले नगरभित्रका ११ वटै वडाका लागि बजेट सिलिङ्ग पनि निर्धारण गरेको छ । प्रवक्ता पौडेलले भने, “जनसंख्या, भूगोल, स्थानीय राजस्व र भौगोलिक विकटता जस्ता मापदण्डको आधारमा न्यूनतम १ करोडदेखि अधिकतम १ करोड ४१ लाखसम्मको बजेट प्रत्येक वडामा विनियोजन गरिनेछ ।”
नगर प्रमुख चक्रपाणी अर्यालले सुरु गरेका विकास योजना समयमै सम्पन्न गर्नु बताए । अब आउने नीति तथा कार्यक्रम सन्तुलित, व्यवहारिक र परिणाममुखी हुने उनको भनाई छ । नगर प्रमुख अर्यालले भने “नगरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा रोजगारीका क्षेत्रमा व्यापक सुधार ल्याउने गरी हामी नीति निर्माण गर्दैछौं । स्थानीयको सहभागिता र सुझावका आधारमा नीति पारदर्शी रूपमा बनाइनेछ ।” नगर उपप्रमुख रिता कुमारी चौधरीले पनि आगामी नीति कार्यक्रम समावेशी हुने जनाउँदै भनिन्, “महिला, दलित, अपाङ्गता भएका व्यक्ति, तथा सीमान्तकृत समुदायको हकहित सुनिश्चित गर्न हामी गम्भीर छौ । नीति निर्माणमा सबैको आवाज समेटिन्छ ।”