© २०२३
गुल्मी, २७ वैशाख ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदरमुकाम तम्घासमा विविध कार्यक्रम गरी आफ्नो २१औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्नुका अतिरिक्त सञ्चारकर्मीहरूको रक्त समूह पहिचान कार्यक्रम आयोजना गरिएको हो । गुल्मी अस्पतालमा आउने बिरामीहरूलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने उद्देश्यले स्थापना दिवसको अवशरमा जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले बताए । गुल्मी अस्पतालको प्राविधिक सहयोगमा २५ जना सञ्चारकर्मीहरूको रक्त समूह परीक्षण गरिएको थियो ।
स्थापनाको स्मरण गर्दै महासंघका पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठले २०६१ सालमा स्थापना भएकोे संगठन अहिले आफ्नै भवनसम्म आइपुगेकोमा खुसी व्यक्त गर्दै संस्थालाई यहाँसम्म ल्याउन योगदान दिने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गरेका थिए । उनले आगामी दिनमा महासंघले थप रचनात्मक काम गर्न आग्रह गरेका छन ।कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष जनार्दन घिमिरेले स्थापना दिवस सबै सञ्चारकर्मीहरूको लागि गर्व र उत्सवको दिन भएको बताए । उनले जिल्लामा पत्रकार महासंघको शाखा स्थापना अघि पत्रकारिताको अवस्था, भोगाई र चुनौतीहरूको स्मरण गर्दै नयाँ पुस्ताले नेपाली पत्रकारितालाई जिम्मेबारीपूर्वक अझ शसक्त बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् ।
पत्रकार महासंघ गुल्मीमा शुद्धिकरण अभियानपछि हाल २५ जना मात्र साधारण सदस्य छन् । महासंघले पत्रकारहरूको हकहितका साथै समाजमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष अनिल खत्रीले आगामी दिनमा महासंघको पहिचान र गरिमा अझ मजबुत बनाउन हालको कार्यसमिति प्रतिबद्ध रहेको बताएका छन ।