© २०२३
हरेक समाजलाई जीवन्त राख्न त्यहाँको संस्कार अनि संस्कृतिले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । समाजमा समयक्रमसँगै अनेकन परिवर्तन देखिन्छन् । यिनै परिवर्तनहरूमध्ये केही प्राकृतिक रूपमा सामाजिक चेतना र आवश्यकताको माग अनुसार जन्मिएका हुन्छन् भने केही केवल बाह्य आकर्षण र अन्धानुकरणबाट प्रेरित देखिन्छन्। पछिल्लो समयमा नेपाली समाजमा मौलिक संस्कारभन्दा पृथक् भएर देखापरेको अन्धाधुन्द चलन हो– बेबी सावर। गर्भवती महिलाको सम्मान गर्ने नाममा सुरु गरिएको यो कार्यकम अहिले शहरी र अर्धशहरी समाजमा फेसन र दिखावटीपनको केन्द्र बनेको छ। यतिखेर प्रश्न उठ्छ — के यो परम्परागत मातृत्व संस्कारको परिष्कृत रूप हो ? वा मौलिक संस्कार अनि संस्कृतिमाथिको आक्रमण?
विश्वका विभिन्न सभ्यता र संस्कृतिहरूबीच तुलनात्मक अध्ययन गर्दा, पूर्वीय संस्कृति — विशेषतः हिन्दू, बौद्ध र वैदिक परम्परा — अत्यन्तै वैज्ञानिक सोचमा आधारित देखिन्छ। यो संस्कृति केवल धार्मिक आस्थाको आधारमा टिकेको होइन; यसमा समयको अनुभव, प्रकृतिको अध्ययन, जीवनचक्रको अवलोकन र मानव चेतनाको गहिरो विश्लेषण समेटिएको पाइन्छ। पूर्वीय संस्कृति भन्नेबित्तिकै अधिकांश मानिसको सोच पुरातन, धार्मिक वा अनावश्यक रूढिहरूमा केन्द्रित हुन्छ। तर यथार्थमा पूर्वीय संस्कार, दर्शन, चिकित्सा पद्धति, योग, ध्यान, आहार–विहारको अनुशासन, सामाजिक संरचना र जीवनपद्धति सबै विज्ञानको आधारमा निर्मित छन्। यो लेखमा त्यसैको विश्लेषणात्मक प्रकाश पार्ने प्रयास गरिएको छ।पूर्वीय समाजले महिलाको मातृत्व अवधिलाई अत्यन्त संवेदनशील रूपमा लिएको छ। वैदिक परम्परामा गर्भवती महिलाका लागि ’सीमन्तोन्नयन’ नामक विशेष संस्कार गरिन्थ्यो। यो संस्कार गर्भको सातौँ महिनामा गरिन्थ्यो जसमा महिला मानसिक, शारीरिक रूपमा स्वस्थ रहून् भन्ने उद्देश्य राखिन्थ्यो।
यस क्रममा सकारात्मक मन्त्र, शान्त संगीत, सात्विक भोजन र आत्मीयता प्रदान गरिन्थ्यो — जुन सबै आजको मनोविज्ञान र प्रेगनेन्सी केयरका लागि अनुकूल छन्। आजको आधुनिक चिकित्सा प्रणालीले समेत स्वीकार गरेको छ कि गर्भवतीको मानसिक अवस्था, सुन्ने आवाज, उसले खाने खानेकुरा र उसको वरिपरि रहेको ऊर्जा बच्चाको मस्तिष्क विकासमा प्रभाव पार्दछ। यही तथ्य हजारौँ वर्षअघि पूर्वीय संस्कारहरूमा समावेश गरिनु वैज्ञानिक गहिराइको स्पष्ट प्रमाण हो । ‘बेबी सावर’ मूलतः पश्चिमी मुलुकहरूमा सुरु भएको मातृत्व सम्मान कार्यक्रम हो। प्रारम्भमा यसको उद्देश्य गर्भवती महिलालाई मानसिक रूपमा सहयोग पु¥याउने, मातृत्वका लागि तयार गराउने, र आवश्यक सामग्री उपलब्ध गराउने थियो। संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया जस्ता देशमा यो एक सामाजिक परम्परा जस्तै मानिन्छ। महिला गर्भवती भएपछि उनको साथी, आफन्त तथा परिवारजनहरू मिलेर बेबी सावर आयोजना गर्छन्। उपहार दिनु, रमाइलो गराउनु, भविष्यको शिशुप्रति शुभकामना दिनु र उत्सवको माहोल सिर्जना गर्नु यसको मुख्य अंग हो ।
नेपालमा पछिल्ला केही वर्षदेखि यो प्रवृत्तिले स्थान लिँदै आएको छ। विशेष गरी सामाजिक सञ्जालको प्रभावले गर्दा यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ। अब त शहरका मात्र होइन, गाउँका युवतीहरूले समेत विशेष पहिरन, केक, बलुन, फोटोशुट, पार्टीको आयोजना गर्दै बेबी सावर मनाउने क्रम बढेको छ। कतिपय अस्पतालहरू र पार्टी प्यालेसहरूले बेबी सावर प्याकेजसमेत उपलब्ध गराउन थालेका छन्। केक काट्ने, लिंग अनुमान गर्ने खेलहरू, आर्टिफिसियल सजावट, र सामाजिक सञ्जालका लागि बनाइने पोष्टहरू — यिनैले कार्यक्रमको स्वरूप निर्माण गर्छन् । तर प्रश्न उठ्छ — के यो सबैले गर्भवती महिलाको मनोविज्ञान, शारीरिक अवस्था, र सामाजिक उत्तरदायित्वको सम्मान गर्छ? नेपाली समाजमा सधैं मातृत्वलाई विशेष सम्मान दिइएको छ। वैदिक संस्कारअनुसार सीमन्तोन्नयन संस्कार गर्भवती महिलाको सातौं महिनामा गरिन्थ्यो। यस संस्कारमा सासू, दिदीबहिनी, श्रीमान्, आफन्तजनहरूको उपस्थिति रहने गथ्र्यो। उनीहरू गर्भवतीलाई सात्विक भोजन, आध्यात्मिक प्रेरणा, शुद्ध वातावरण, धार्मिक मन्त्रोच्चार र आरामदायी संगीतद्वारा प्रेरित गर्थे। यस्ता संस्कारहरू केवल सामाजिक हैसियत देखाउने नभई वैज्ञानिक तथा मनोवैज्ञानिक आधारमा आधारित थिए ।
आजको बेबी सावर भने त्यो गहिराइभन्दा धेरै टाढा छ।
जहाँ सीमन्तोन्नयन संस्कारमा ध्यान, भावना र आध्यात्मिक ऊर्जाको वहाव हुन्थ्यो, बेबी सावरमा केक र फोटोको बाह्य आवरण मात्र छ। गर्भवती महिलाको सन्तुलन, स्वास्थ्य अवस्था, तनाव तथा भावनात्मक आवश्यकतालाई विचार नगरिकन केवल बाह्य प्रदर्शन गरिन्छ। सामाजिक सञ्जालमा राम्रो देखिनु मुख्य उद्देश्यजस्तो देखिन्छ । विकृतिको रूपमा बेबी सावरको विश्लेषण गर्दा केही महत्वपूर्ण बुँदाहरू देखा पर्छन्। पहिलो — यो कार्यक्रम अब मातृत्वको सम्मानभन्दा फेसनको विषय बनेको छ। महिला कसरी उभिएकी छ, उसको कपडा कस्तो छ, सजावट के कस्तो छ, केक कति ठूलो छ — यी सबैले कार्यक्रमको मूल्य निर्धारण गर्छन्। दोस्रो — पारिवारिक सहमति र इच्छा भन्दा पनि सामाजिक दबाबमा कार्यक्रम आयोजना हुन्छ। ‘अरूले गरे, हामीले नगर्ने?’ भन्ने मानसिकता अत्यन्त हावी छ। तेस्रो — आर्थिक भार। सीमित आम्दानी भएका परिवारले समेत ऋण काढेर, बेचिनु पर्ने गरिकन यस्तो कार्यक्रम आयोजना गर्ने प्रवृत्ति देखिन्छ । यस्ता कार्यक्रमहरूमा संस्कारको गहिराइभन्दा बाहिरी तडकभडक बढी देखिन्छ। कसैले सोच्दैन — के गर्भवती महिला त्यस्तो भीड, चमकधमक र कोलाहलयुक्त वातावरणका लागि मानसिक रूपमा तयार छिन्? के उनको शरीरले त्यो सब झेल्न सक्छ? के त्यसले गर्भको शिशुमा सकारात्मक प्रभाव पार्छ? पश्चिमी मुलुकमा त्यस्ता कार्यक्रमको आयोजना स्वास्थ्य विज्ञको सल्लाहमा र सीमित अवधिमा गरिन्छ। हामीकहाँ भने त्यो कुरा गौण बनेको छ ।
हाम्रो समाजमा मातृत्व एउटा तपस्या सरह हो। आमालाई देवीसरह मानिन्छ। जन्मदात्री आमाको चरणमा स्वर्ग रहेको धार्मिक मान्यता छ। यस्ता मान्यताहरू केवल भावनात्मक होइन, सामाजिक जिम्मेवारी र नैतिक शिक्षासँग पनि सम्बन्धित छन्। गर्भावस्थाको समय स्त्रीको जीवनको एक अति संवेदनशील चरण हो। त्यसबेला उसलाई आत्मीयता, सहानुभूति, र पारिवारिक माया–ममता चाहिन्छ। त्यसको सट्टा, उसलाई ‘प्रदर्शनको पात्र’ बनाउने संस्कृति कतिसम्म उपयुक्त छ ? हाम्रो मौलिक संस्कारमा मातृत्वसँग सम्बन्धित अनेक अनुष्ठान छन् — पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अन्नप्राशन आदि। यी सबै संस्कारहरू केवल धार्मिक आस्थाबाट प्रेरित थिएनन्, तिनीहरू आयुर्वेद, योग र वेदको गहिरो ज्ञानमा आधारित थिए। गर्भवती महिला कुन महिना कुन ध्वनि सुन्नुपर्छ, कस्तो भोजन उपयुक्त हुन्छ, कुन प्रकारको ध्यान वा साधना लाभदायक हुन्छ — यस्ता सूचनाहरू हाम्रो परम्परागत संस्कारभित्र समेटिएका छन् ।
आजको पुस्ता इन्टरनेटको संसारमा बाँचेको छ। फेसबूक, इन्स्टाग्राम, टिकटोकमा देखिएको कुरा प्रत्यक्ष जीवनमा दोहोर्याउने मानसिकता अत्यन्तै बलियो छ। अनुकरणको यस्तो प्रवृत्तिले मौलिक परम्परालाई विस्थापन गर्दैछ। हामी आफ्नो संस्कारको गहिराइ बुझ्न नखोजी, बाहिरी चमकधमक पछाडि लाग्ने हो भने आगामी पुस्तालाई मौलिकतासँग जोड्ने सन्दर्भ नै हराउने खतरा रहन्छ । यसो भन्दैमा सबै पश्चिमी अभ्यास खराब नै हुन् भन्ने होइन। कतिपय अभ्यासहरू उपयोगी र मनोवैज्ञानिक रूपमा पनि सकारात्मक हुन्छन्। तर कुनै पनि संस्कार वा प्रचलनलाई आत्मसात् गर्नुअघि त्यसको सामाजिक, आर्थिक, मनोवैज्ञानिक प्रभावको मूल्यांकन गर्नुपर्छ। सस्तो लोकप्रियताको पछि लागेर दीर्घकालीन नकारात्मक प्रभाव निम्त्याउनु बुद्धिमत्तापूर्ण हुँदैन । बेबी सावरको अर्को गम्भीर पक्ष भनेको लिंग पहिचान खेलहरू हुन्। यस क्रममा गर्भमा छोरा हो कि छोरी भन्ने अनुमान गर्ने, गुलाबी या नीलो बलुन फोड्ने, वा केकको रंगबाट लिंग जनाउने प्रवृत्ति बढेको छ। नेपालमा लिंग पहिचान गर्न कानुनी रूपमा रोक लगाइएको छ।
यस्तो सन्देश प्रवाह हुने कार्यक्रमले लैङ्गिक समानताको भावनालाई कमजोर पार्न सक्छ। छोरीलाई दोस्रो दर्जाको दृष्टिले हेर्ने प्रवृत्तिको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन हुने खतरा रहन्छ । यसका साथै, यस्तो कार्यक्रममा भएका खर्च, भोज, केक, सजावटका सामग्री, लत्ताकपडाहरू सबै आयातित हुन्छन्। यो आयातले नेपालको अर्थतन्त्रमा पनि असर पार्दछ। लाखौँ रूपैयाँको पार्टी, विदेशी ब्रान्डको केक, विदेशबाट मगाइएका सजावट सामग्रीहरू — यी सबै नेपालबाट पैसा बाहिरिने माध्यम बन्न पुगेका छन्। यस्तो प्रवृत्तिले घरेलु उत्पादनको अवसरलाई समेत कुण्ठित गर्छ। हाम्रो संस्कृतिमा गर्भवती महिलाको हितका लागि निःशुल्क रूपमा गरिने जप, पूजाआजा, आयुर्वेदिक उपचार, प्राकृतिक उपायहरू अहिले बेवास्ता गरिन्छ। संस्कारको आत्मा गुमाउँदै महँगो र कृत्रिम तामझाममा रमाउने चलन एक प्रकारको मानसिक उपनिवेशवाद हो — जसले आफ्नै संस्कारलाई तुच्छ र अर्काकोलाई महान् देखाउने विकृति जन्माउँछ ।
अबको आवश्यकताः समावेशी पुनरावलोकन। हामीले बेबी सावरजस्तो कार्यक्रमको उपादेय पक्षलाई आत्मसात् गर्न सक्नुपर्छ। गर्भवती महिलालाई केन्द्रमा राखेर, उनको स्वास्थ्य, भावना, सन्तुलनलाई महत्व दिँदै, सीमित व्यक्तिको उपस्थिति र मौलिक परम्पराको आत्मा समेटेर आधुनिक रूपान्तरण गरिन सकिन्छ । अन्ततः, संस्कार केवल परम्पराको निरन्तरता होइन, मूल्य र चेतनाको स्रोत पनि हो। हामी आफ्नो संस्कारको मूल आत्मालाई बिर्सेर, केवल दृश्यात्मक नक्कलमा रमायौं भने, भोलिको पुस्ता भूतपूर्व मूल्यबोधविहीन नागरिक बन्न सक्छ। हाम्रो कर्तव्य छ — आधुनिकतासँगै मौलिकताको संरक्षण गर्नु, आडम्बरी विकृति होइन, वैज्ञानिक परम्परालाई आत्मसात् गर्नु । हामीले हिजोको ज्ञान, अनुभव र संस्कारलाई आजको प्रविधिसँग जोड्ने प्रयत्न गर्नुपर्छ। बेबी सावरलाई सीमन्तोन्नयन संस्कारसँग मिलाएर, स्थानीय कला, संस्कार, भोजन, परम्परालाई समेटेर एउटा नयाँ, विवेकपूर्ण र सन्तुलित परम्परा निर्माण गर्न सकिन्छ । निष्कर्षमा भन्नुपर्दा, बेबी सावरका नाममा भइरहेको फेसन शो, खर्चिलो प्रदर्शन, र सामाजिक सञ्जालकेन्द्रित मानसिकता हाम्रो संस्कृतिको आत्मघाती बाटो हो। यसलाई पुर्वीय आँखाले हेर्ने, वैज्ञानिक मूल्याङ्कन गर्ने र आत्मपरक पुनरावलोकन गरेर अघि बढ्नुपर्ने बेला आएको छ। संस्कृति भनेको केवल इतिहास होइन — त्यो सजीव चेतना हो, जसले हाम्रा भावी पुस्तालाई सहि मार्ग देखाउँछ । अस्तु ।