© २०२३
लमही, २५ बैशाख ।
लुम्बिनी प्रदेश का मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटमा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण तथा समावेशी विकासका लागि स्विस सरकार र साझेदार संघसंस्थाबीच थप सघन सहकार्य आवश्यक रहेको बताए ।प्रदेश सरकार आत्मनिर्भरतातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै पनि सहकार्यको खाँचो रहेको धारणा व्यक्त गरे । “यहाँहरूको तर्फबाट यी क्षेत्रहरूमा अहिलेसम्म गरिएको योगदानको सरकारले उच्च मूल्यांकन गर्छ। आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखिनेमा हामी विश्वस्त छौं,” मुख्यमन्त्री आचार्यले भने ।
उनले द्वन्द्वका बेला दुबै पक्षबाट पीडित बनेको लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएकोमा स्विस सरकारप्रति आभार व्यक्त गर्दै त्यस क्षेत्रको रणनीतिक योजना कार्यान्वयनमा सहयोगको आग्रह गरे । मुख्यमन्त्री आचार्यले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको व्यवस्थापन र निरन्तरताका लागि सहयोग आवश्यक रहेको पनि बताए ।
राजदूत डा. मेउलीले स्विस सरकारले नेपालमा संघीय शासन प्रणालीको संस्थागत विकासका लागि प्रदेशको क्षमताविकासमा निरन्तर सहकार्य गरिरहेको जानकारी दिए । उनले सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ काम भइरहेको बताउँदै प्राविधिक शिक्षाको पहुँच विस्तारमा आगामी दिनमा अझ सहकार्य हुन सक्ने धारणा राखे ।“प्राविधिक शिक्षा र श्रम बजारबीचको समन्वय आवश्यक छ । यसका लागि प्रदेशस्तरमा प्राविधिक शिक्षा ऐन आवश्यक देखिएको छ,” राजदूत मेउलीले भनिन्, “साना तथा मझौला व्यवसायको विकासका लागि पनि प्रदेश तहमा काम भइरहेको छ।”उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, निमित्त प्रमुख सचिव ईश्वरराज पौडेलले सहभागीता थिए ।