© २०२३
बर्दिया,२५ बैशाख ।
कृष्णसार विश्वकै लोप हुन लागेको संरक्षित वन्यजन्तु हो । कृष्णसारको प्राकृतिक बासस्थान बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर २ खैरापुर हो । खुल्ला चौरमा बस्न रुचाउने कृष्णसार दुर्लभ र सौन्दर्य पुर्ण शरीर भएका संरक्षित वन्यजन्तु हो । कृष्णसारको मुख्य आहारा घाँस, सिरु, काँस आली हो । कृष्णसारको आकर्षक लामो घुमेको सिङ, कालो र सेतो रंगको रौँ तेजिलो र सुन्दर देखिन्छ । बाघ, चितुवा, कुकुर, स्याल सजिलै मारेर खाने भएकाले कृष्णसार घटबढ भइरहन्छन ।
हिन्दु धर्म अनुसार कृष्णसारलाई भगवान कृष्णको साथीको रुपमा पनि लिइन्छ । भगवान कृष्ण हिड्ने क्रममा केही कृष्णसार यहाँ बसेको स्थानीयहरुको अनुमान रहेको छ । एक सय ९७ ओटाको संख्यामा रहेको कृष्णसारले अहिले २७ ओटा बच्चा जन्माएपछि संख्या बढेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत सुर्य खड्काले बताए ।
उनले भने, कृष्णसार संरक्षण क्षेत्रमा अहिले एक सय ३६ पोथी, ४४ भाले र ४४ ओटा बच्चा रहेका छन् । सरकारले लोप हुने अवस्थामा पुगेको कृष्णसारलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । सरकारले कृष्णसारको संरक्षणमा पनि ध्यान दिन थालेको छ । करिब २००८ साल तिर बाँके, बर्दिया र कैलाली जिल्लामा प्रशस्त मात्रमा पाईने गर्थे तर घनाबस्ती र जंगल विनासका कारण कृष्णसार लोप भएका छन् । प्राकृतिक बासस्थान बर्दियाको खैरापुर भएपछि संरक्षणको लागि शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा कृष्णसार राखेर संरक्षण गर्न थालिएको छ ।