Butwal Today

भारत र पाकिस्तानबीच तनाव चुलिँदा कतारले खुला संवादको बाटो रोज्न आग्रह

२४ बैशाख २०८२, बुधबार
अ+
अ-

कतारले भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुबै देशलाई कूटनीतिक माध्यममार्फत संकट समाधान गर्न आह्वान गरेको छ। विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कतारले दक्षिण एशियाली क्षेत्रीय स्थायित्वका लागि तत्काल संवाद र संयमता आवश्यक रहेको औंल्याएको छ।

विज्ञप्तिमा भनिएको छ, “कतार भारत र पाकिस्तानबीच निरन्तर बढ्दो तनावप्रति चिन्तित छ। हामी दुवै पक्षलाई कूटनीतिक पहलमार्फत समाधान खोज्न आग्रह गर्दछौं।” साथै, कतारले द्विपक्षीय समस्या समाधानका लागि खुला वार्ताको माध्यम खोल्न पनि आग्रह गरेको छ।

यसबीच, भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाहीबारे जानकारी दिँदै सो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको प्रतिकारस्वरूप गरिएको बताइन्। अपरेशनमा नौवटा आतंकवादी शिविरहरूलाई पूर्ण रूपमा ध्वस्त पारिएको भारतको दाबी छ।

पाकिस्तानले भने भारतीय हमलामा २६ जना सर्वसाधारण मारिएको र ४६ जना घाइते भएको जनाएको छ। भारतले पनि नियन्त्रण रेखामा भएको गोलाबारीमा आफ्ना १० जना नागरिकको ज्यान गएको र ३२ जना घाइते भएको पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?