© २०२३
सल्यान, २४ बैशाख ।
सल्यानको कालिमाटी गाउँपालिकाले जस्तापाता वितरण सुरु गरेको छ । मंगलबार पालिकाले वडा नम्बर ४ का २५ घरपरिवारलाई जस्तापाता वितरण गरेको हो ।गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले बाकी वडाहरूमा पनि चाँडै वितरण गरिने भन्दै चालु आर्थिक वर्षमा वडा नम्बर १ मा ३५ घरधुरी, वडा नम्बर २ मा ३३, वडा नम्बर ३ मा २५, वडा नम्बर ५ मा ३३, वडा नम्बर ६ मा २५ र वडा नम्बर ७ मा २५ घरधुरीलाई जस्तापाता वितरण गरिने जनाए । उनका अनुसार जम्मा २०१ घरधुरीका लागि जस्तापाता वितरण गर्ने तयारी छ ।
भविष्यमा बाढी, पहिरो, हावाहुरी वा आगलागी जस्ता प्राकृतिक विपद् पर्न सक्ने भएकाले थप २० घरपरिवारलाई पुग्ने जति जस्तापाता सञ्चित राखिएको पनि अध्यक्ष खत्रीले जानकारी दिए । यता पालिका उपाध्यक्ष सन्सिलता वली डिसीले चुनावताका गरिएको बाचा अनुसार नै काम अघि बढाइएको बताइन् । “हामी पालिकालाई पाँच वर्षभित्र खरको छाना मुक्त बनाउने लक्ष्यसहित अघि बढेका छौं,” उनले भनिन्, “सरकारी जागिर नखाएका, छोराछोरीलाई निजी विद्यालयमा नपढाएका र जनप्रतिनिधि नभएकालाई मात्र जस्तापाता वितरण गरिएको हो ।” कालिमाटी गाउँपालिकाले तीन वर्षअघि नै खरको छाना हटाउने अभियान सुरु गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वलीले वडा कार्यालयको सिफारिस अनुसार लक्षित समुदायलाई जस्तापाता वितरण गरिएको बताए । जस्तापाताले आगलागीको जोखिम घटाउने र जङ्गली जनावरबाट जोगिन सहयोग पुग्ने उनको विश्वास छ । यस अभियानका लागि गाउँपालिकाको बजेटसहित प्रदेश सरकारको समपूरक बजेटबाट टेन्डर प्रक्रिया मार्फत जस्तापाता खरिद गरी वितरण गरिएको हो ।