© २०२३
बुटवल, २४ बैशाख ।
बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरूले उद्योगको क्षमता अनुसार ठाउँ साँघुरो भएको बताएका छन् । उनीहरूले बुटवल औद्योगिक क्षेत्रमा भाडा विवाद कायमै रहेको र विद्युतमा समेत समस्या रहेको बताए । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको टोलीले बुटवल औद्योगिक क्षेत्र सहितका विभिन्न उद्योगहरूमा स्थलगत अवलोकनसँगै उद्योगका समस्या संकलन गर्ने क्रममा यस्तो गुनासो आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ सालदेखि लागू हुनेगरी २०७८ सालमा जग्गाको भाडा ७ सय प्रतिशतसम्म बृद्धि गरेको थियो । यो विवाद अझै सुल्झिएको छैन । त्यस्तै बुटवल औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर छ । तर, विद्युत जाने आउने समस्या रोकिएको छैन ।
बुटवल औद्योगिक क्षेत्रमा ६० उद्योग छन् । त्यसमध्ये अधिकांश उद्योग प्लाष्टिक र फेव्रिकेशनका छन् । यो प्रकृतिका उद्योगका लागि २४ सै घण्टा विद्युतको आवश्यकता पर्छ । औद्योगिक क्षेत्र उद्योग संघका वरिष्ठ उपाध्यक्ष प्रज्वल थान्जुका अनुसार केही मिनेट मात्रै विद्युत अवरुद्ध हुँदा उद्योगले धेरै नोक्सान व्यहोर्नुपर्छ । त्यसबाहेक औद्योगिक क्षेत्र र बाहिरका उद्योगका अरू समस्या भने समान प्रकृतिका छन् । सिथिल अर्थतन्त्र, जनशक्तिको अभाव, सरकारको औद्योगिक नीति सबै उद्योगका समान समस्या हुन् । औद्योगिक क्षेत्र उद्योग संघका महासचिव कमल ज्ञवालीले कच्चा पदार्थमा भन्सार शुल्क लाग्ने र तयारी बस्तुमा छुट दिनेसम्मका नीतिले नेपाली उद्योगीलाई समस्या गराएको बताउनु हुन्छ । उनका अनुसार यावत कारणले फूल फेजमा उद्योग सञ्चालन गर्न सकिएको छैन ।
मुलुकको शिथिल अर्थतन्त्रका कारण यस क्षेत्रका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । रूपन्देहीमा थुप्रै औषधी उद्योग छन् । औषधि उद्योगहरूमा पनि सरकारको विमा पोलिसी, क्यास फ्लोको अभाव, दक्ष जनशक्ति तथा सानो बजार ठूलो लगानी लगायतका समस्या रहेको ती उद्योगीहरू बताउँछन् । आयुर्वेदिक र एलोपेथिक औषधी उत्पादन गरिरहेको ग्रेस फर्मासिउटिकल प्रा.लि.मा पनि संघको टोलीले स्थलगत अवलोकन गरेको थियो ।
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दी लगायतका कारणले उद्योगहरू पूर्ववत सञ्चालनमा आउन नसकेको पञ्चकन्या ग्रुपका महानिर्देशक देवेन्द्र साहु बताए । रूपन्देहीको कोटिहवामा ३ वटा स्टिल र ३ वटा प्लाष्टिक उद्योग सञ्चालन गरेको पञ्चकन्या ग्रुपले पूर्ण क्षमताको २० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताए । यो उद्योगमा अहिले पनि ६ सय बढी कामदार कर्मचारी कार्यरत छन् ।
‘पूर्ण क्षमतामा सञ्चालन नभएपछि हामीले तिर्दै आएको भन्सार शुल्क पनि कम भएको छ, राजश्व पनि कम भएको छ ।’ उनले भने –‘भन्सार किन कम भयो भनेर भन्सार पनि आउँदैन, राजश्व किन कम भयो भनेर कर कार्यालय पनि आउँदैन, पहिले बैंक आउनु पर्दैनथ्यो, अहिले बैंक आउँछ ।’ एनले राज्य भूमिका विहिन भएको बताउनु भयो । ‘छोरा लड्यो भने उठाउने दायित्व बाबुको हो, घाउ चोटपटक लागेको भए औषधोपचार गर्ने, तयार बनाउने दायित्व बाबुको हो ।’ उनले भने –‘तर, यहाँ बाबुको भूमिकामा राज्य छैन ।’ उनले विद्युत निरन्तर भएको भए आईरन (फलाम वेष्टेज नहुने बताउँदै विद्युत ट्रिपिङले धेरै आईरन वेष्टेज भईरहेको पनि बताए ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगीहरूका समस्या पहिचान गर्न स्थलगत अवलोकन गरिएको र प्राप्त सुझाव सल्लाहका आधारमा समस्या समाधानका लागि संघले रणनीति तय गर्ने बताए । उद्योगहरूको स्थलगत अवलोकनबाट प्राप्त भएका समस्याहरू तथा सुझाव सल्लाहहरूलाई संघमा छलफल गरी स्थानीय स्तरमा हुन सक्ने संघले पहल गर्ने र माथिल्लो निकायमा भन्नुपर्ने कुरालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्फत समाधानका लागि पहल र पैरवी गरिने अवलोकन टोली संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बताए ।