© २०२३
वैशाख, २३ रोल्पा ।
क्षमता भन्दा करीब तेब्बर संख्यामा कैदीबन्दी रहँदा कारागार कार्यालय रोल्पाका कैदीहरूले सास्ती भोग्ने गरेका छन् । जम्मा ५० जनाको क्षमता रहेको रोल्पा कारागारमा हाल १३५ कैदी वन्दी रहेकाले उनीहरूले सास्ती भोग्नु परेको होे ।
पुरानो भवन रहेको कारागार कार्यालय रोल्पामा ३५ पुरुष र १५ महिला गरी ५० कैदीवन्दी राख्ने क्षमता रहेपनि उक्त कारागारमा हाल १२३ पुरुष र १२ महिला सहित १३५ कैदी वन्दी रहेका छन । पंचायतकालिन जीर्ण कारागारमा क्षमता भन्दा करिव तेव्वर कैदी वन्दी रहँदा उनीहरूको दैनिक जीवनयापन समेत प्रभावित हुने गरेको वताईन्छ । रोल्पामा कारागार शाखा २०२९ सालमा स्थापना भएपनि आफ्नै भवन नहुँदा लामो समय भाडाको घरमा संचालन भएको थियो । २०३९ सालमा १० रोपनी जग्गामा निर्माण भएको भवन निर्माण कम्पनीले २०४६ सालमा सरकारलाई हस्तान्तरण गरेको थियो ।
दुई वटा घेरामा रहेको रोल्पा कारागारको वाहिर प्रहरी व्यारेक छ भने भित्र महिला र पुरुष थुनुवा तथा कैदी राख्ने छुट्टा छुट्टै कोठा छन । सुरुमा ३५ जनाको क्षमता सहित निर्माण गरिएको कारागार भवन पछि ५० जना अट्ने गरी स्तरोन्नती गरिएको थियो । भवनमा जम्मा १० कोठा रहेका छन् । जसमा ८ कोठा पुरुष र २ कोठा महिला कैदी बन्दीहरूका लागि छुट्याएको जेलर यामलाल वलीले जानकारी दिए । एउटा कोठामा १५ देखी १९ जना सम्म कैदी वन्दी वस्नु पर्ने वाध्यता रहेको कारागार कार्यालय रोल्पाको भनाई छ । भवन अभावले कारागारको प्रशासनिक काम भने भाडाको घरवाट हुदै आएको छ । कारागार कार्यालय नजिकै रहेको घरमा कार्यालय संचालन गर्दै आएको सो कार्यालयले बघरभाडा वापत वार्षिक १ लाख २० हजार भाडा भुक्तान गर्दै आएको छ ।
लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीको पहलमा २०७६ सालमा कारागार भवन मर्मतका लागि १० लाख रूपैयाँ उपलव्ध भएको र सोही बजेटवाट मर्मतको काम गरेर काम चलाउदै आएको जेलर वलीको भनाइ छ ।
पुरानो र जीर्ण कारागारलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मतको काम गरेका छौ जेलर वलीले भने । पानी चुहिने छाना र सेन्ट्री पोष्टहरू मर्मत गर्नुका साथै कैदीवन्दीहरूका लागी २ कमन र प्रत्येक कोठामा एटेच ट्वाईलेटको व्यवस्था गरेका छौ वलीले भने ।
कारागारको सुरक्षाका लागी पर्खाल मर्मत तथा काँढेतारको समेत व्यवस्था गरेको छ । कारागार वनेको लामो समय भएकाले त्यसले अहिलेको आवश्यकता पुरा गर्न नसकेपनि आवश्यक श्रोत साधनको उपयोग गरेर प्रयोग योग्य वनाएको छौ जेलर वलीको भनाइ छ ।
क्षमता भन्दा निकै वढी कैदी बन्दी रहदा आफुहरूको दैनिकी निकै असहज भएको कैदी बन्दीहरूको भनाई छ । कारागारको भित्री खुला भागका साथै सुत्ने कोठामा समेत समस्या रहेको उनीहरूको भनाई छ । फिल्टर सहितको स्वच्छ पिउने पानी, चारैतिर सोलार वत्तीका साथै आवश्यकता अनुसार ईन्भटरको व्यवस्था हुनुपर्ने कैदी वन्दीहरूको भनाई छ । घरेलु सीपमुलक तालिमका साथै पुस्तकालय समेत संचालन हुनुपर्ने उनीहरूको भनाई छ । महिलाहरूले सिलाईकटाई तालिम लिन चाहेपनि कुनै व्यवस्था छैन ८७ वर्षिय कैदी गंगे खड्काले भने । आफुहरू जस्तो जेष्ठ व्यक्तिहरू दीर्घरोगी समेत भएकाले समय समयमा उपचारको व्यवस्था हुनु पर्ने खड्काको माग छ ।
पैतिस वर्ष पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने भन्दै रोल्पा नगरपालिका वडा नं. २ रेउघा नजिक जग्गा समेत व्यवस्थापन गरिसकिएको छ । स्थानीयहरूले कारागार भवन निर्माणका लागि १८ रोपनी जग्गा निःशुल्क रजिष्टेशन गरिदिएका थिए । यसैगरी सोही आसपासमा रहेको करिव ४ रोपनी नून थलो समेत साढे २२ रोपनी जग्गा उपलव्ध गराइएको वताइएको छ । कारागार भवन निर्माण गर्ने भन्दै केही वर्ष अघि लुम्बिनी प्रदेश सरकारले २५ लाख रूपैयाँ विनियोजन गरेको थियो । उक्त वजेटले घडेरी सम्याउने काम मात्रै भएको कारागार कार्यालय रोल्पाको भनाई छ ।