© २०२३
बुटवल, २३ बैशाख । रुपन्देही जिल्ला बुद्धिचाल संघको दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गणेश बहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिमा उपाध्यक्ष शेखर रेग्मी, सचिव हर्क पुन, कोषाध्यक्ष मनु दर्लामी, र सदस्यहरू सुमन श्रेष्ठ, युवराज रेग्मी, तथा बुद्धिकला राना निर्वाचित भएका छन् ।
त्यसैगरी, संघको पहिलो बैठकबाट निर्मल हुमागाई र दधिप्रसाद थारुलाई सदस्य पदमा मनोनीत गरिएको छ ।नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो सम्बोधनमा बुद्धिचाल खेललाई विद्यालयस्तरमै विस्तार गर्ने, नियमित प्रशिक्षण र प्रतियोगिता आयोजना गर्ने, साथै अघिल्लो पुस्ताका योगदानकर्ता खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम अघि बढाइने प्रतिबद्धता जनाए ।
कार्यक्रमका संघका केन्द्रीय उपाध्यक्ष माधव प्रसाद प्रधानले रुपन्देहीलाई खेलकुदको उर्वरभूमि भएको भन्दै स्थानीय स्तरमै खेल संरचना मजबुत बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । विगतमा धेरै अन्तराष्ट्रिय खेलाडी रुपन्देहीबाट उत्पादन भएको तथा प्रतियोगिताहरु समेत आयोजना गरि बुद्धिचाल खेललाई चिनाउन सफल भएको उनले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्यले खेल संघ–संस्थाहरूलाई थप व्यवस्थित र उत्तरदायी रूपमा गतिविधिहरू सञ्चालन गर्न सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न खेलप्रेमी, बुद्धिचाल प्रशिक्षक, विद्यालय प्रतिनिधि र युवा खेलाडीहरूको उत्साहजनक उपस्थिति थियो ।