काठमाडौँ, १७ वैशाख ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीको गिरफ्तारीको विषयमा सरकारसँग गम्भीर स्पष्टीकरण माग गरेको छ। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई वैशाख १७ गते कार्यक्रम स्थलबाटै पक्राउ गर्नु कानुनी प्रक्रियाविना गरिएको प्रशासनिक मनोमानी भएको आरोप लगाइन्।
उनले चौधरीमाथि भएको व्यवहार संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा गम्भीर चोट पुर्याउने खालको भएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन्। श्रेष्ठले राज्यका संयन्त्रहरू व्यक्तिगत रिसीवीको आधारमा प्रयोग गरिँदै आएको भन्दै आक्रोश व्यक्त गरिन्। उनले चौधरी निर्वाचित जनप्रतिनिधि भएकाले उनीमाथिको व्यवहार लोकतान्त्रिक मूल्य विपरीत रहेको बताउँदै सरकारलाई घटनाबारे गहिरो अध्ययन गरी जवाफ दिन आग्रह गरिन्। चौधरीलाई कार्यक्रम सुरु हुनु पूर्व एक सरकारी कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा गिरफ्तार गरिएको दाबी गर्दै उनले संसदमार्फत यसबारे सरकारको जवाफ मागेकी छन्।




