© २०२३
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्ना सभापतिप्रति राज्यले प्रतिशोध लिएको आरोप लगाउँदै त्यसक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललको पनि बयान लिएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले माधव नेपालपछि रेशम चौधरीमाथि पनि आक्रमण हुन्छ भनेर प्रश्न समेत गरे। ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहान्छौँ,’ झाले भने, ‘हाम्रो पार्टी सभापतिप्रति भएको भयो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालज्यूको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौँ। अब के सिके राउतप्रति आक्रमण हुन्छ कि?’
आफूहरुले यसलाई गम्भीरतापूर्वक लिएको भन्दै उनले अब भने यसलाई नसहने अवस्था आउनसक्ने चेतावनी पनि दिए। झाले भने, ‘यो सबै कुरालाई हामीले राजनीतिक प्रतिशोधको क्रम रुपमा हेरिराखेका छौँ। गम्भीरतापूर्वक लिइराखेका छौँ र सधै चुप लाग्न सकिने अवस्था नरहन सक्छ भन्ने पनि जानकारी गराउन चाहान्छौँ।’