Butwal Today

दुई दिनको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से ४.२६ अंकले बढ्यो

२३ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

लगातार दुई कारोबार दिनको गिरावटपछि आज (मंगलबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर २६१४.६७ विन्दुमा पुगेको छ।

नेप्से सुधारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। सोमबार ७ अर्ब ६३ लाख रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

कुल ३१८ कम्पनीका २ करोड ५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए।

यता, विन नेपाल लघुवित्तका लगानीकर्ताले भने सर्वाधिक घाटा बेहोरेका छन्, कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। कारोबारको हिसाबले सानिमा माइ हाइड्रोपावर ९२ करोड रुपैयाँको सेयर खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो।

अन्य ठूला कारोबार गर्ने कम्पनीहरूमा नगदी ग्रुप (६७ करोड), राधी विद्युत (३८ करोड), युनिलिभर पावर (३६ करोड) र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट (३२ करोड) रहेका छन्।

आजको बजारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ। समग्रमा पाँच समूहको उपसूचक सकारात्मक रहँदा अन्य समूहहरू नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सबैभन्दा बढी २.०३ प्रतिशतले उकालो लागेको छ।