© २०२३
मस्को ।
युक्रेनको लगातार ड्रोन आक्रमणपछि रुसको राजधानी मस्कोका चार विमानस्थलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको रुसी अधिकारीहरूले बताएका छन्, जसलाई बीबीसीले उद्धृत गरेको छ।
मस्कोका मेयर सर्गेई साबोइनिनले राजधानी र वरपरका क्षेत्रमा हालै मात्रै १९ वटा ड्रोन प्रहार गरिएको जानकारी दिँदै ती सबैलाई निस्तेज गरिएको दाबी गर्नुभएको छ। उहाँका अनुसार केही ड्रोन राजधानीको सडकमै खसे पनि मानवीय क्षति भने नभएको बताइएको छ।
ड्रोन आक्रमणका कारण स्थानीयवासीहरूमा त्रास फैलिएको छ। यसअघि आइतबार भएको हमलामा दुई विद्युत् स्टेशनमा क्षति पुगेको र केही व्यक्ति घाइते भएको रिपोर्ट आएको थियो। त्यस्तै, हिजो युक्रेनी सेनाले रुसको सीमावर्ती गाउँमा प्रवेशको प्रयास गर्नुका साथै कर्सकस्थित एक खानीमा पनि आक्रमण गरेको थियो।
स्थिति अझै संवेदनशील रहँदा मस्कोमा सुरक्षा सतर्कता उच्च बनाइएको छ र हवाई आवागमन ठप्प पारिएको छ। रूस–युक्रेन युद्ध झन् जटिल मोडमा प्रवेश गरिरहेको संकेतहरू यस्ता घटनाबाट झल्किन्छन्।