© 2026
दाङ, २२ बैशाख ।
जिल्ला प्रशासन कार्यालय दाङको मुल गेट अघिबाट फलामे स्ल्याब चोरी भएको छ । चौबिसै घण्टा सुरक्षामा खटिने प्रहरीको अघिबाटै शुक्रबार राति फलामे स्ल्याब चोरी भएको हो ।
जिल्ला प्रशासन अघि रहेको नालामा स्ल्याब नहुँदा सेवाग्राहीलाई जोखिम बढेको भन्दै स्थानीय व्यवसायीले करिब १० हजारको लागतमा फलामको स्ल्याब बनाएका थिए ।
तर, शुक्रबार राति करिब ३ बजेतिर जिल्ला प्रशासन कार्यालयको मुल गेट अघिबाट उक्त स्ल्याब चोरी भएको व्यवसायीले बताए । नालामा स्ल्याब नहुँदा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालयमा सेवा लिन तथा सो क्षेत्रमा आउजाउ गर्न सहजताका लागि फलामे स्ल्याब बनाएर राखिएकोमा चोरी भएपछि अहिले फेरी जोखिम बढेको स्थानीयको भनाई छ ।
गहिरो नालामा स्ल्याब नहुँदा जोखिम बढेको भन्दै व्यक्तिगत लगानीमा फलामे स्ल्याब बनाएर प्रयोगमा ल्याएको बेला एकाएक चोरी भएपछि नागरिकलाई जोखिम बढेको छ । स्ल्याब चोरी गर्न आएकाहरु सिसिटीभी फुटेजमा कैद भएको बताइएको छ ।
यता, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्ला प्रशासन कार्यालय मुल गेट अघिबाट स्ल्याब चोरी भएको घटना बारे जानकारी नभएको बताए । उनले प्रशासन कार्यालय परिसर छेउँबाटै चोरी भएको घटनाप्रति चासो व्यक्त गरेका छन् । घटना बारे जानकारी लिने र आवश्यक कारवाही प्रकृया अघि बढाउने प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।