© २०२३
बाँके, बैशाख २१ गते ।
भेरी अस्पताल नेपालगन्जमा आइतबारदेखि जलन वार्ड र सर्जिकल विंग सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो सेवा उद्घाटन गर्दै अस्पताललाई सिकलसेल र थालेसिमिया रोगीहरूका लागि आवश्यक पर्ने निःशुल्क खोपसमेत हस्तान्तरण गरेका छन ।
अस्पतालको नयाँ भवनमा ६ शैयाको जलन वार्ड र १४ शैयाको सर्जिकल विंग सञ्चालनमा ल्याइएको हो । यससँगै अब अग्निपीडित बिरामीहरूको उपचारमा सहजता आउने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह लगायतको उपस्थिति थियो ।
समारोहमा बोल्दै मन्त्री पौडेलले भेरी अस्पतालले आफ्ना सेवाहरू निरन्तर विस्तार गर्दै गएकोमा खुसी व्यक्त गरे । उनले भने, “आमनागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन अस्पतालले सेवा विस्तार गर्दै गएको देख्दा म अत्यन्तै खुसी छु। मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको छु।”
स्वास्थ्य सचिव डा. देवकोटाले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै जनशक्ति र उपकरण व्यवस्थापनमा पनि मन्त्रालयले ध्यान दिएको बताए । उनले प्रदेशस्तरीय अस्पतालको रूपमा भेरी अस्पतालको भूमिका अझ प्रभावकारी बनाउन मन्त्रालय क्रियाशील रहेको जानकारी गराए । त्यस्तै, डा. निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिहरूको जानकारी दिँदै हालसम्म १३ सेवा विस्तार भइसकेको बताए ।