© २०२३
लमही, २१ बैशाख ।
दाङको देउखुरी उपत्यकामा पर्ने राप्ती नदी बगर क्षेत्रमा कृषकहरूले कठोर परिश्रम गर्दै, उब्जनी गर्न नसक्ने ठानिएको जमिनमा समेत हरियाली फिजाइरहेका छन् । बोधिपुर, गढवा–५ का हेम नारायण चौधरी र लमही नगरपालिका–६ का शहीद अन्सारी जस्ता कृषकहरू यतिबेला नदी किनारको बगर क्षेत्रमा तरकारी र फलफूल उत्पादनमा समर्पित छन् । चौधरी र अन्सारी दुवैले विगत ४ बर्षदेखि नदी किनारमा पसिना बगाउँदै खरभुजा खेती गरिरहेका छन्। अन्सारीले आफूले जुत्ता चप्पल लगाएर खेती गर्दा बालीनालीमा असर पर्ने बुझाइका कारण नाङ्गै खुट्टा हिँड्ने गरेका छन्। खेतीपातीलाई जीवनको आधार मानेका उनी पुख्र्यौली पेशालाई व्यावसायिक गर्न अडिग छन् ।
केही खेर गएको र केही जग्गा लिजमा लिएर तरकारी र खरबुजा खेती गर्दै आएका अन्सारीको परिवार दुई पुस्तादेखि नेपालमा बसोबास गर्दै आएको भए पनि नागरिकता नहुँदा सरकारी अनुदानबाट वञ्चित छन् । त्यसैले उनीहरू आफ्नै बलबुतामा खेती गरिरहेका छन् । अन्सारीले खेती सुरु गरेयता फर्सी, काक्रो, लौका, बोडी लगायतका तरकारी २० देखि ७० रूपैयाँ प्रतिकिलोसम्ममा विक्री गर्दै आएका छन् । त्यस्तै, बालुवामा राम्रो उत्पादन हुने विश्वासका साथ उनले २ किलोदेखि ८ किलोसम्मका तरबुजा उत्पादन गरेका छन् । तर तरबुजाको बजार भने सन्तोषजनक छैन । भारतबाट आयातित तरबुजालाई ‘राप्ती नदीको’ भनेर बदनाम गरिने प्रवृत्तिले उनी दुःखी छन् ।
उनले १ लाख ५० हजार रूपैयाँ लगानीमा तरबुजा खेती थाले पनि चिसो मौसमका कारण केही बीउ नष्ट भएका थिए । यद्यपि हाल प्रतिकिलो ३० रूपैयाँमा बिक्री भइरहेको तरबुजाबाट केही आम्दानी उठिरहेको उनले बताए । तरकारी र फलफूलको राम्रो उत्पादन भए पनि व्यापारीको सिन्डिकेट र बजारको समस्याले आम्दानीमा अपेक्षित लाभ नआएको भन्दै अन्सारीले आगामी वर्ष लगानी घटाउने तयारीमा छन्।उनी जस्तै अन्य किसानहरू बिचौलिया चलखेल हुन थालेपछि सडकमै बसेर बिक्री गरेको बताउँछन । बगर क्षेत्रको खेतीमा उत्पादन राम्रो भए पनि सरकारी प्राथमिकता नपाउँदा धेरै कृषक हतोत्साहित भएका छन् । सुरुमा बहुउद्देश्यीय सहकारी संस्था र जेआइजेट परियोजनाको सहयोगमा सुरु भएको बगर खेती, परियोजना बन्द भएसँगै सरकारी ध्यानको अभावमा थला परेको छ ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार हाल बगर क्षेत्रमा अनुमानित ५० हेक्टरमा खेती भइरहेको छ । जसबाट करिब १० सय मेट्रिक टन तरकारी र खरबुजा उत्पादन हुने गरेको बताइएको छ। केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत पृथ्वीराज लामिछानेका अनुसार आगामी वर्ष किसानको मागअनुसार १० हेक्टर क्षेत्रफलमा बगर खेतीका लागि अनुदान दिने योजना तयार गरिएको छ ।बगर खेतीका लागि १ हेक्टर बराबर १ लाख ५० हजार रूपैयाँसम्मको अनुदान प्रदान गरिने छ। बगर क्षेत्रको उर्वरता र उत्पादन क्षमतालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र दाङका प्रमुख नरेश धितालले राप्ती र बबई नदी किनारमा झण्डै २ सय हेक्टर क्षेत्रमा बगर खेती विस्तार गर्न सकिने बताए ।
श्रम, सम्भावना र सीमाले भरिएको बगर खेती अब कृषकका लागि मात्र होइन, समग्र दाङको कृषि विकासका लागि पनि मोहर फलाउने माध्यम बन्न सक्ने संकेत देखिएको छ । बर्षौदेखी राप्ती नदिले कटान गर्दै बिघौ बिघा खेतीयोग्य जमिन बगरमा परिणत गरे पनि केहि बर्षयता नदीमा तटबन्धसँगै बगर अहिले सिमान्तबर्गका किसानलाई बरदान जस्तै बनेको । यद्यपि सरकारी अनुदानका लागि भने प्राप्त प्रमाण नहुदा बन्चित रहेको किसानहरू गुनासो गर्छन ।