© २०२३
सुर्खेत, २१ वौशाख ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थलमा रुख कटानको काम सुरुवात भएको छ ।
स्थानीयको अवरोधको कारण विवादित स्थान बाँकेको बानियाभारमा सुरक्षा घेरामा काम सुरु भएको छ काममा अवरोध आएपछि जम्मा तीन वटा टावर निर्माण र आसपासका रुख कटानमा ढिलाई भएको थियोे ।
निकुञ्ज क्षेत्रमा आयोजनालाई रुख कटानको अनुमति प्राप्त भइसकेको अवस्थामा स्थानीयले बारम्बार अवरोध पु¥याएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रुख कटान र टावरको फाउन्डेसन निर्माण कार्य अघि बढाइएको हो । सुर्खेत–कोहलपुर १३२ केभी प्रशारण आयोजनाका साइड इन्चार्ज मिलन सुवेदीले निकुञ्ज क्षेत्रमा पर्ने रुख कटानमा स्थानीयले अवरोध पु¥याएपछि प्रशासनको सहायताले रुख कटान गरी टावर निर्माणको कार्य सुरुवात गरिएको बताए ।
यस्तै, प्रशारण लाइनको मुख्य सबस्टेसन रहने सुर्खेतको सुब्बाकुनामा पनि स्थानीयको अवरोधका कारण एक टावर निर्माण गर्न नसकिएको सुवेदीले बताए । स्थानीयको अवरोधका कारण जेठ मसान्तसम्म प्रशारण लाइनलाई पूर्णता दिन राखिएको लक्ष्य प्रभावित भएको उनले बताए । स्थानीयको अवरोध समाधान भएको खण्डमा असार मसान्तसम्म लाइन विस्तारले पूर्णता पाउने सुवेदीले बताए । आयोजनाका एक सय ६२ पोलमध्ये एक सय ५२ पोल निर्माण भई अधिकांश स्थानमा तार तान्ने काम सम्पन्न भइसकेको उनले बताए ।
सुवेदीका अनुसार प्रशारण लाइनबाट चार्ज गरिने मुख्य सुब्बाकुना सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बाँकी विवाद नभएका क्षेत्रमा पनि प्रशारण लाइनका टावर निर्माण जारी रहेको आयोजनाले जनाएको छ । साढे तीन वर्षअघि २३ असार २०७८ मै सम्पन्न भइसक्नुपर्ने आयोजना रुख कटान र स्थानीयको अवरोधका कारण लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । सुरुदेखि नै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा भोगाधिकार, रुख कटान तथा आयोजना विस्तार हुने क्षेत्र बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र बानियाभारका स्थानीयबाट आयोजनामा अवरोध सिर्जना हुँदै आएको छ । स्थानीयले प्राधिकरणका कर्मचारीलाई गाउँ प्रवेशमा नै निषेध गर्दै आएका थिए । उक्त ठाउँ वरपर करिब २ सय रुख कटान गर्नुपर्ने उनले बताए । यसअघि स्थानीय विकल्प खोज्नुपर्ने भन्दै अदालत पनि गएका थिए । स्थानीयवासीद्वारा दायर रिट अदालतले खारेज गरिदिएको थियो । तर पनि स्थानीयको अवरोध कायमै रहेको थियो । जग्गाको उचित मुआब्जा दिएर आयोजनाको काम अघि बढ्ने सहिमति नजिक पुग्दा पनि अर्काे पक्ष आएर विवाद निकाल्दै आएका छन् ।
बानियाभारमा जम्मा तीन वटा टावर मात्र निर्माण गर्नुपर्ने छ । तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन प्रभावित हुन्छ भने एक घरलाई समेत असर पार्ने देखिन्छ । प्रत्येक स्थानीयको १० धुरदेखि ६ कट्ठासम्मको जमिन छ भने प्रसारण लाइन विस्तार गरे सबै जमिन प्रयोग गर्न नमिल्ने हुँदा स्थानीयले अवरोध गरेका थिए । एक अर्बभन्दा बढी लागत अनुमान रहेको यो आयोजनामा अहिले भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ ।