© २०२३
बर्दघाट, २१ बैशाख । रातीदेखी परेको सिमसिम पानीका कारण दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । बर्दघाट दुम्किबास खण्डको घिउखोलामा चिप्लो बाटोको कारण सवारी आवागमन हुन नसकेको हो ।
आइतबार विहानैबाट सिमसिम पानी परेसँगै सवारी अवागमन हुन नसकेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ । पछिल्लो समय बुटवल नारायणघाट सडकको दाउन्ने सडक खण्ड राती ११ बजेदेखी विहान ५ बजेसम्म सवारी सँचालनमा रोक लगाई सडक निर्माण काम हुँदै आएको थियो । आइतबार विहानै दुम्किबास क्षेत्रको घिउखोलामा बाटो चिप्लो हुँदा साना ठूला कुनै पनि सवारी सँचालन हुन नसकेका हुन ।
सडकको माथिल्लो माटोको तह काटेर सवारी सँचालनको प्रयास गरिए पनि निरन्तर सिमसिम पानीको कारण सवारी चल्न सकेका छैनन् । दुम्किबासबाट दाउन्ने तर्फ आउने सवारी उकालो चढन नसकेका कारण दुम्किबास ज्यामिरे खण्डमा रोकिराखिएको र बर्दघाटबाट जाने सवारीहरु पनि ओरालोमा चिप्लिएर दुर्घटना हुनसक्ने सम्भावना रहेकोले बर्दघाट क्षेत्रमै रोकि राखिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
सामान्य वर्षाहुँदा समेत सवारी सँचालन हुन नसक्ने दाउन्ने सडक खण्डमा यात्रुवाहक एवम् मालवाहक सवारीले घण्टौ जाम हुने समस्या भोग्दै आएका छन ।