Butwal Today

हस्तान्तरण नभएको भ्यूटावरबाट ३५ लाख शुल्क उठाइयो !

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

 

पाल्पा, २१ बैशाख ।
तानसेन नगरको गौरवको योजना भनिने श्रीनगरडाँडाको भ्यूटावर निर्माण कार्यरम्भको दुई दशक पुरा भयो तर त्यसले पूर्णता पाउन सकेको छैन । नगर सरकारले २०६६ साल देखि नै ठेक्का मार्फत निर्माण कार्यअगाडि बढाएको थियो । निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरेर नगर सरकारलाई वैधानिक रूपमा हस्तान्तरण गर्नुपर्ने थियो तर हालसम्म काम पुरा हुन नसके पनि नगर सरकारले आन्तरिक आम्दानीको मुख्य श्रोत बनाउँदै आएको छ । पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले २७ मिटर गहिरो जग भएको ३० मिटर उचाई भएको भ्यूटावर निर्माणका लागि हिमढुग एण्ड थोकर जयरक्तकाली संग निर्माणका लागि १ करोड ४ लाख ६९ हजार ३ सय ४० रूपैयामा संझौता गरेको थियो निर्माण कम्पनी नगर सरकार बिच पहिलो चरणमा २०६६ साल चैत १२ गते र दोस्रो चरण २०६८ साल बैशाख ८ गते सम्झौता भएको थियो ।

निर्माणका क्रममा पालन गर्नुपर्ने प्रचलिन ऐन नियम अनुसार निर्माण कम्पनीले निर्माण कार्य पुरा गरेपछि विधिवत रूपमा हस्तान्तरण गर्नुपर्ने कानुुनी प्राविधान भएपनि पहिलो सम्झौता अनुरूप २०७० सालको मंसिर ३० गते बाट म्याद सकियो निमार्ण कार्य पुरा भएन । नगरपालिकाले निर्माण कम्पनीलाई म्याद थप गरी काममा लगाउन तर्फ पहल नगर्दा निर्माण कम्पनी सम्पर्क भन्दा टाढा रहन पुगेको पुराना कर्मचारीहरू बताउछन् । जनप्रतिनिधि विहीन अवस्थामा तत्कालीन समयका प्रमुख प्रशासकीय अधिकृत प्राविधिकको निजी स्वार्थका कारण निर्माण कम्पनीले बाँकी काम पुरा नगरी सम्पर्क भन्दा बाहिर हुँदा पनि निर्माण कम्पनीको बैंक ग्यारेटीसम्म रोक्का भएन । धरौटी रकम रोक्का नभएको प्राविधिकहरू बताउँछन् ।

लामो समयसम्म वेवारिसे जस्तै भएको थियो । स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगर सरकारको आफनो पहलमा झण्डै १० लाख खर्चिएर टावरको रेलिङ, छाना छाउने रंग रोगन, ग्रिल राख्ने, टायल छाप्ने, झ्यालका खापा राख्ने काम भएको नगर सरकारका प्राविधिक टिका सोमैले बताए । निर्माण कम्पनीले काम किन गरेन । नगर सरकारले बाकी काम गराउन किन पहल गरेन भन्ने जस्ता विषय बस्तु संग आफू पूर्ण रूपले अनविज्ञ भएको प्राविधिक सोमैले बताए ।

स्थानीय निकायमा जनप्रतिनिधि विहीन हुँदा वेथितीको यो एउटा उदाहरण मात्र हो । यसमा निर्माण कम्पनी र कर्मचारीबीचको निजी स्वार्थ भएका कारण नगर सरकारलाई नोक्सान भएको हो । स्थानीय सरकारले सम्पन्न भएको कानुनी प्रकृया पुरा नगरी टावर बाट तानसेन दृश्य अवलोकनका लागि जाने संग शुल्क उठाउने कार्य कानुनी सम्भत भन्ने विषयमा नगर सरकार बेखवर जस्तै भएको स्थानियहरू बताउँछन् । आन्तरिक पर्यटक मात्र नभई विदेशी पर्यटकको रोजाइमा परेको श्रीनगर डाडा हो । श्रीनगर पुग्ने पर्यटक मध्य ४० प्रतिशत राजश्व संकलनमा भ्यूटावरको महत्व रहेको राजश्व शाखाका प्रमुख मधु सुदन घर्ती बताउँछन् । नगर सरकारले २०७५ साल पछिको समयमा शुल्क उठाउन लागेको र वार्षिक ३५ लाख रूपैयाँ जम्मा हुने गरेको उनले बताए ।

तानसेन नगरको प्रत्यक्ष निगरानीमा रहेको श्रीनगर पछिल्लो समयमा सामुदायिक वन उपभोक्ता समिती र नगर सरकारबीच पटक पटक विवादमा झमेला हुने गर्दछ । यसको दिर्घकालीन व्यवस्थापनका लागि श्रीनगर सहित भ्यूटावर समेतको संरक्षणका लागि अबका दिनमा स्थानीय तथा सामुदायिक वन उपभोक्ता समिति संग साझेदारीको कार्यक्रम अगाडि बढने नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । विगतको इतिहास भन्ने उनले अनविज्ञता प्रष्ट पारे ।
श्रीनगर डाँडा प्राकृतिक रूपले नै अग्लो त्यसमाथि भ्यूटावर मौसम खुलेको बखतमा हिम श्रृङखला दृश्य अवलोकनका लागि ठूलो संख्यामा भिड लाग्ने गर्दछ । त्यसैले नै तानसेनको पर्यटन बिकासमा ठूलो टेवा पुगेको पर्यटक व्यवसायीहरू बताउँछन् ।