Butwal Today

आजदेखि एसएलसी परीक्षा सुरुः लुम्बिनीमा रुपन्देही र विद्यालयमा कालिका मानवज्ञानका परीक्षार्थी धेरै

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

बुटवल, २१ वैशाख ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने २०८२ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित र आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा आइतबारदेखि सुरु हुँदैछ ।.

बैशाख ११ गते परीक्षा हुने पुर्व तालिका रहेपनि शिक्षक आन्दोलनले गर्दा पुर्व निर्धारित तालिका अनुसार परीक्षा हुन नसक्ने अवस्था आएकोले पुरानो समयतालिकामा संशोधन गरी नयाँ तालिका ल्याइएको थियो । जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ ३ लाख ९५ हजार ९०८ (जसमध्ये छात्र १ लाख ९८ हजार ८७५ छात्रा १ लाख ९७ हजार ०१३ र अन्य २० तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ गरी कूल जम्मा ५ लाख ११ हजार ५२५ परीक्षार्थीहरू सहभागी हुँदैछन् ।

परीक्षार्थी सङ्ख्या अनुसार सबैभन्दा कम मनाङ जिल्लामा कूल ४५ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुनेछन् । नेपालभर जम्मा १५ सय ९० र जापानमा १ समेत गरी कूल १५ सय ९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १६२ वटा र सवैभन्दा कम मनाड÷मुस्ताड़ जिल्लामा १÷१ केन्द्र निर्धारण गरिएको छ । देश बाहिर केन्द्र राखेर कक्षा १२ को परीक्षा संचालन गर्न लागिएको यो दोश्रोपटक हो ।

लुम्बिनी प्रदेशबाट कक्षा १२ को परीक्षामा नियमिततर्फ ६६ हजार ७६७ र आंशिकतर्फ २३ हजार ९११ गरी कूल ९० हजार ६७८ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुदैछन् । परीक्षा संचालनको लागि लुम्बिनी प्रदेशमा २६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा (२३ हजार ८५३ जना ) र सबैभन्दा कम परीक्षार्थी रुकुम पुर्वमा (१ हजार २८३ ) रहेका छन् । रुपन्देही जिल्लाको परीक्षार्थी संख्या काठमाडौं जिल्ला पछिको धेरै हो ।

लुम्बिनी प्रदेशमा कालिका मानवज्ञानका परीक्षार्थी धेरै

लुम्बिनी प्रदेशका विद्यालयहरु मध्ये कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै परीक्षार्थीहरु बुटवलस्थित कालिका मानवज्ञान माविबाट सहभागी हुने राष्ट्रिय परिक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अधिकृत बाबुराम भण्डारीले बताए । कालिका मानवज्ञान माविबाट यो परीक्षामा नियमिततर्फ १७ सय ४५ र आंशिकतर्फ ७३ गरी कूल १८ सय १८ जना सहभागी हुदैछन् । नियमित तर्फका परीक्षार्थीहरु मध्ये ४८ जना प्राविधिक धार तर्फका विद्यार्थीहरु रहेका छन् । कालिका मानवज्ञान माविका विद्यार्थीहरुले बुटवलका विभिन्न ९ वटा परीक्षा केन्द्रबाट परीक्षा दिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । कालिका मानवज्ञान माविमा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ र साधारंणतर्फ विज्ञान, शिक्षा, मानविकी, कानून र व्यवस्थापन समुह अन्तर्गत पढाई हुदै आएको छ.