© २०२३
बुटवल, २० बैशाख । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुक्कका साथ सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारबाट सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन ।
बिपक्षीको काम नै विरोध गर्ने भएको भन्दै त्यस्ता कुरामा नअल्मिन समेत उनले सुझाव दिए । ओलीले देश र जनतालाई सर्वोपरि राखेर सरकार अघि बढिरहेको बताए । बिपक्षीहरुले सदनमा गलत बोल्ने गरेको भन्दै उनले गलत बोल्नेको कुरा पछिको पुस्ताले थाहा पाउने भएको रेकर्डमा राखिरहनुपर्ने उल्लेख गरे । बिपक्षीहरुले जनतामा भ्रम पार्न खोजे तत्काल खण्डन गर्न उनले निर्देशन दिए । ओलीले सदनमा चिप्लने खालको नभइ स्पष्ट रुपमा सदनमा धारणा राख्न समेत आफ्ना सांसदहरुलाई निर्देश गरे ।
प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे । समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे ।