© २०२३
नवलपरासी, १९ वैशाख ।
पृथ्वी चन्द्र अस्पताल, परासीमा थपिने भनिएको दुई सेवा विस्तार हुन सकिरहेको छैन । ६ महिना अघि अस्पतालमा आँखा उपचार विभागको स्थापना गरी आँखाको अपरेशन र मिर्गौला रोगीलाई गरी डायलसिस सेवा तथा आईसियु सेवा सुचारु गर्ने भनिएको थियो । गत चैत २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्षविहीन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउँदा आन्तरिक व्यवस्थापनका लागि समस्या भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
अस्पतालका यी दुबै सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि छ, तयारी पनि भइरहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सूचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएको हुँदा सो मेसिन सञ्चालन गर्नका लागि दुई जना कर्मचारी बुटवलमा तालिम लिन पठाइएको जानकारी गराए । डायलसिस सञ्चालनका लागि उचित स्थानको प्रबन्ध मिलाउन नसक्दा ढिलो भएको थियो, उनले भने, अहिले अस्पतालका अधिकांश सेवाहरू नयाँ भवनमा सरेको छ, पुरानो भवनमा डायलसिस सञ्चालनका लागि व्यवस्थापन गर्ने कार्य भई रहेको छ ।
त्यसैगरी आँखा उपचारका लागि नेत्र रोग विशेषज्ञ सिमा भण्डारी र नेत्र सहायक समेत अस्पतालमा भए पनि उचित उपकरण अभावले आँखाको अपरेशन हुन सकेको छैन । आँखाका लागि विशेषज्ञले सामान्य आँखा परीक्षण गर्ने कार्य मात्रै भइरहेको छ । व्यवस्थापकीय अभावले सर्जिकल सेवा हुन सकेको छैन । त्यसैगरी सघन उपचार कक्ष (आईसियु) को व्यवस्थापन पनि कमजोर हुँदा सो सेवा प्रभावकारी हुन सकिरहेको छैन ।
अस्पतालमा डेढ महिनादेखि रेडियोलोजिस्ट डाक्टर हाजिर भएर सेवा दिँदा बिरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परीक्षणका लागि विभाग खडा गर्ने जानकारी गराइएको थियो । ५० सैया अस्पतालमा बहिरङ्ग विभाग अन्तर्गत नै आँखा परीक्षणका सेवा समेत सञ्चालन गर्नुपर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परीक्षणका लागि विभाग बनाउने योजना ल्याएको थियो ।
अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रक्तचाप लगायतका बिरामीलाई औषधि चलाउँदा आँखामा समेत असर पर्ने हुँदा त्यसको समेत नियमित परीक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परीक्षणको सेवा थप गर्न लागेको अस्पताल व्यवस्थापनले जानकारी गराएको हो । आँखा उपचार सेवाले अस्पतालमा सेवा विस्तारसँगै गुणस्तरीय सेवालाई प्रभावकारी बनाउने अस्पतालका सूचना अधिकारी ज्ञवालीले जानकारी गराएका थिए । शाखाका लागि सरकारले एक जना बी. अप्टोमेट्रिस्ट चिकित्सक अप्सना अंसारी ६ महिना पहिला नै हाजिर भई सकेकी थिइन् । पछि आँखाका डाक्टर (अप्थाल्मोलोजिस्ट) भनी भर्ना भएको उनको भनाइ थियो ।
सर्जरीका लागि पनि अस्पतालले बेहोस बनाउने जनशक्ति पनि राखिसकेको हुँदा अस्पतालको सेवाको गुणस्तरीयतामा अब प्रश्न उठ्ने कुरा नहुने विश्वास गरिएको उनको भनाइ थियो । त्यसैगरी अस्पतालले आफ्नै स्रोतमा सर्जन चिकित्सक पनि राखिसकेको छ । उनीबाट पनि सेवा प्रवाह भई रहेकोले बिरामीलाई वर्षेनी सेवा थपिने हुँदा बिरामीको आकर्षण बढेको दाबी सूचना अधिकारी ज्ञवालीको रहेको थियो । लामो समयदेखि खाली रहेको रेडियोलोजिस्ट पनि अहिले निरन्तर सेवा दिँदै आएपछि अस्पतालको सेवा प्रभावकारितामा सधैं प्रश्न उठ्ने गरेको छ ।
पहिला विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिँदै आएको अस्पतालमा रेडियोलोजिस्ट नहुँदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरी रिपोर्ट दिने अवस्था नहुँदा उपचारमा केही समस्या भएपछि अहिले अस्पतालमा रेडियोलोजिस्टको उपस्थितिले सेवासँगै गुणस्तरीय सेवा बिरामीले पाउन थालेको दाबी अस्पतालको छ । तर आईसियु सेवा, आँखा उपचार सेवा र डायलसिस सेवा अझै प्रभावकारी हुन नसकेको अस्पताल व्यवस्थापनले स्वीकार गरेको छ ।
यसका लागि तत्काल अस्पतालमा अध्यक्ष नियुक्त भएर आउनु पर्ने र बैठक बसेर योजना बनाई अगाडि बढ्नु पर्ने आवश्यकता देखिएको छ । अस्पतालमा मेसिन र जनशक्ति उपलब्ध भए पनि व्यवस्थापकीय कमजोरीका कारण डायलसिस सेवा सञ्चालन हुन सकेको छैन । लाखौं रुपैयाँका उपकरण मेसिन खरिद भएर थन्किएको र वैशाखदेखि नै डायलसिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिँदै बसेको तर व्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो । सरकारले डायलसिस गराउने बिरामीलाई निःशुल्क सेवा दिन स्थानीय स्तरमै उपकरण र जनशक्ति पठाइसकेको तर उपकरण मेसिन जडान नगरी त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परीक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै तस्वीर सहित नै उल्लेख गरेको छ ।
अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरू खरिद गरी थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरू पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढी बिरामी नियमित डायलसिस गर्न बुटवल र भैरहवा जानुपर्ने समस्या झेल्दै आएका छन् । सरकारले ती बिरामीहरूलाई नै लक्षित गरी विभिन्न दातृ निकायसँग सहयोग माग्ने, ऋण लिने कार्य गर्छ । तर ती बिरामीले सेवा पाउँदैनन् । डायलसिस सेवा सबै व्यवस्था भएर पनि सञ्चालनमा ल्याउन नसक्नु व्यवस्थापककै कमजोरी भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।