© २०२३
बुटवल ऐतिहासिक सम्पदाहरूको केन्द्र हो । बुटवलमा रहेका महत्वपूर्ण ऐतिहासिक सम्पदालाई पर्यटनसंग जोड्ने हो भने मुलुककै प्रमुख पर्यटकीय गन्तब्यको सूचीमा बुटवलको नाम अग्रपंक्तिमा आउने निश्चित छ । यहाँ दर्जनौं सम्पदा छन– जसको संरक्षणले बुटवलको सम्मृद्धिमात्रै होइन, बुटवलको पहिचान राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अझै उचो हुने छ । बुटवल पश्चिम नेपालको प्रमुख व्यापारिक नगरीमात्रै होइन, यो पर्यटकीय गन्तब्य पनि हो । बुटवल विश्रामस्थल पनि हो । बुटवल ७७ वटै जिल्लाका नागरिकको बसोबास भएको थलो हो । पूर्व पश्चिम नेपालको करिव मध्य भागमा रहेकोले यो नगरले अनेकौं संभावना बोकेको छ । पछिल्लोसमय बुटवललाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने जुन अभियान सुरु भएको छ, त्यो सराहनीय छ । बुटवल उपमहानगरपालिकाले बस्नयोग बुटवल सहर बनाउने लक्ष्यका साथ अभियान थालेको छ । त्यतिमात्रै होइन, बुटवल विश्रामस्थल पनि बन्न सक्छ । ७७ वटै जिल्लाका नागरिक पूर्वदेखि पश्चिम जानुप¥यो भने बुटवललाई टेक्नैपर्दछ । तसर्थ यो विश्रामस्थल पनि बन्न सक्छ ।
त्यसका लागि बुटवलमा पूर्वाधार निर्माणको काम हुनैपर्दछ । बुटवलमा रहेका अमूल्य सम्पदा जसको प्रचार प्रसारमा जोड दिन सकेको खण्डमा बुटवललाई सम्मृद्ध नगरका रूपमा विकास गर्न सकिन्छ । अझ भनौं बुटवललाई पर्यटकीय गन्तब्य सहरका रूपमा विकास गर्न सकिन्छ । बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न नगरको सौन्दर्यीकरण, सरसफाई, हरियाली आदि कुरामा ध्यान दिनु जरुरी छ । पूर्व पश्चिम र उत्तर दक्षिणको द्वारको रूपमा बुटवलको विकासको संभावना छ । त्यसका लागि सवैभन्दा पहिला बुटवलमा रहेका ऐतिहासिक सम्पदालाई पर्यटनसंग जोड्नुपर्ने खाँचो छ । बुटवलको जितगढी किल्ला, मणिमुकुन्द सेनको शीतकालीन दरबार, जितगढीको युद्ध संग्रहालय, उजिरसिंह फल्चा, आदि मानव रामापिथेकसको बंगारा भेटिएको स्थल, बुटवलमा रहेका ऐतिहासिक मठ मन्दिर, पाटीपौवा, पार्क, कपरकट्टी मिनी फेवाताल, पुरानो बटौली लगायत दर्जनौं सम्पदा छन, जसलाई पर्यटनसंग जोड्न सकिन्छ । बुटवल उपमहानगरपालिकाले पनि बुटवललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने अवधारणा अनुरूप विकास निर्माणको कामलाई अघि बढाएको छ ।
घिउसंग नुन साटने सहरको ख्याती कमाएको पुरानो बटौलीको संरक्षणका लागि अव अभियान सुरु हुँदैछ । संघीय सरकारसंगको सहकार्यमा बुटवल उपमहानगरले यसको विकासका लागि काम अघि बढाएको छ । बुटवलको पुरानो बटौली बजार बन्दीपुर बन्न सक्छ । त्यसैगरी बुटवलमा संचालनमा आएका दुईवटा केबलकारले बुटवलको पर्यटन विकासमा ठूलो योगदान दिएका छन् । केबलकारले बुटवलको पर्यटनलाई देश विदेशसंग जोड्ने काम गरेको छ । भारतका विभिन्न सहरबाट केबलकार चढेर मनोरञ्जन लिन पर्यटकहरू बुटवल आउने गरेका छन् । यो पनि बुटवलको पर्यटन बैभव हो भन्दा अत्युक्ति हुँदैन । अवको दिनमा बुटवलको प्रमुख सम्पदा जितगढी किल्लालाई विश्व सम्पदामा सुचिकृत गर्न अविलम्ब पहल गर्नुपर्छ । जितगढीको व्यापक रूपमा पुरातात्वीक खोज अनुसन्धान वा अन्वेषण गरिनुपर्छ । जितगढीका नायक कर्णेल उजीर सिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न पहल गर्नुपर्छ । जितगढी र उजिरसिंह थापाको हुलाक टिकट पनि प्रकाशन गरिनुपर्छ । बुटवलको जितगढीदेखि पाल्पाको नुवाकोट गढीसम्मको इलाका र प्राचीन बटौली बजारलाई समेत जोडेर पर्यटकीय विकास र प्रबद्र्धन गरिनुपर्छ ।
यो इलाका पनि राष्ट्रिय अर्थतन्त्रको एउटा आधार स्तम्भ बन्न सक्छ । जीतगढी संरक्षण गर्न सके नेपालका मात्रै होइन विदेशी पर्यटकपनि आकर्षित गर्न सकिन्छ । तर, यसमा दह्रो प्रतिवद्धताको आवश्यकता छ । त्यसैगरी मणिमुकुन्दसेनको शीतकालीन दरबार, नुवाकोट पदमार्ग, हिलपार्क, तिनाउ नदी किनारमा निर्माण गर्न लागिएको आरती केन्द्र तथा बुटवलमा रात्रीकालीन बजार सञ्चालनको वातावरण वनाउन सकिएको अवस्थामा बुटवलको मुहार फेरिनेछ । त्यसैपनि बुटवल पुरानो स्वरूपबाट आधुनिक सहरको रूपमा स्थापित भैसकेको छ । यी सवै सम्पदाको संरक्षण र विकासले अव बुटवललाई पर्यटकीय सहरका रूपमा पनि स्थापित गर्न सकिन्छ भन्ने विश्वासयोग्य वातावरण तयार भएको छ । फेरिपनि संघीय, प्रदेश र स्थानीय सरकार अनि बुटवलबासी सवैले बुटवलको विकासमा चासो र ऐक्यबद्धता जनाउन सके बुटवल मुलुककै प्रमुख पर्यटकीय गन्तब्यको रूपमा विकास हुने कुरामा कुनै शंका गरिरहनु पर्दैन । तसर्थ बुटवलको विकास गर्नका लागि सवैले होस्टेमा हैंसे गर्ने बेला भएको छ ।