© 2026
गुल्मी ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायीक विद्यालयमा पढाउनुपर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अकिृत नरेश गिरीले सरोकारवालाका नाममा एक ध्यानआकर्षणपत्र जारी गर्दै सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले निजी विद्यालयमा भर्ना गराउने प्रवृत्तिले नागरिकमा सामुदायीक विद्यालयप्रति विश्वास घट्दै गएकाले यस्तो नीति लिएको बताएका छन् ।
सार्वजनिक शिक्षाप्रति भरोसा कायम राख्न र शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैको सहभागिताका साथै जवाफदेहीता सुनिश्चित गर्नका लागि यस शैक्षिक सत्रदेखी जनप्रतिनिधि,गाउँपालिकामा कार्यरत कर्मचारी,सामुदायीक विद्यालयमा कार्यरत स्थानीय शिक्षक तथा कर्मचारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायीक विद्यालयमा पढाउन आग्रह गरिएको छ ।
२०८१ जेठ २७ गतेको कार्यपालिका बैठकबाट गरिएको निर्णयलाई अघिल्लो शैक्षिक सत्रमा लागु गर्न नसकिएकाले यस शैक्षिक सत्रमा कार्यन्वयन नगर्नेलाई कानून अनुसारको कारवाही गरेरै छाडने गिरीले चेतावनी दिए ।
गाउँपालिका भित्र ४३ सामुदायीक र दुई संस्थागत गरी ४५ विद्यालय रहेका छन् भने करिव तीन हजार विद्यार्थी रहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।