© २०२३
काठमाडौँ।
सरकार र शिक्षक महासङ्घबीच भएको ९ बुँदे सहमतिप्रति विद्यालय कर्मचारी परिषद्ले असन्तुष्टि जनाउँदै कडा विरोध गरेको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा विद्यालय कर्मचारीहरूले उक्त सहमतिबारे जानकारी दिँदै महासङ्घ नेतृत्वमाथि नाराबाजीसमेत गरेका थिए। उनीहरूले आफ्ना मागहरू उपेक्षित भएको आरोप लगाउँदै सहमतिलाई अधूरो र पक्षपातपूर्ण भन्दै विरोध जनाएका हुन्।
विद्यालय कर्मचारी परिषद्की सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सरकारले शिक्षक र कर्मचारीहरूबीच विभेद गर्दै कर्मचारीहरूको मागलाई बेवास्ता गरेको छ। यद्यपि उनले आन्दोलनको उपलब्धिका रूपमा सरकारसँग भएको सहमतिलाई ऊर्जा र दबाबको परिणाम भनेकी छन्।
“विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन स्थगन मात्र हो, अन्त्य होइन,” सहअध्यक्ष पराजुलीले स्पष्ट पारिन्। उनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ऐन पारित गराउने विषयमा सहमति भइसकेको बताउँदै, यदि सहमति कार्यान्वयन भएन भने आन्दोलन झन सशक्त रूपमा अघि बढाइने चेतावनी दिइन्।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनसहित विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीहरू सरकारले मंगलबार राति प्रस्तुत गरेको ९ बुँदे सहमतिपछि केही समयका लागि आन्दोलनका कार्यक्रम स्थगन गरेका थिए।