© २०२३
काठमाण्डौ ।
ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरू हुँदैछ। वर्षा र समृद्धिका देवता मानिने मच्छिन्द्रनाथको रथ पहिलो दिन पुल्चोकबाट तानेर बाजागाजासहित पाटनको गाःबहालसम्म पुर्याइने कार्यक्रम रहेको छ।
रथ हाल पुल्चोकमा निर्माण गरिएकाे स्थानमै राखिएको छ। गत सोमबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएपछि त्यहाँ भक्तजनको भीड दिनप्रतिदिन बढ्दै गएको छ। दर्शन, पूजा, बत्ती बाल्ने कार्यका लागि आउने श्रद्धालुको घुइँचो लाग्ने गरेको छ।
रथयात्राका क्रममा देवताको रथ जहाँ पुग्छ, त्यहाँका स्थानीयवासीले विशेष पूजाआजा तथा स्वागत गर्ने परम्परा रहिआएको छ। जात्रामा इन्द्रबाजा, गुरुजु पल्टन, धिमे, नायखिँलगायतका परम्परागत बाजाहरु बजाइने छन्।
यसैगरी, टङ्गल टोलमा बनाइएको मीननाथको रथ पनि आजै तानेर गाःबहाल पुर्याइनेछ। जात्राको अन्तिम दिन “भोटो जात्रा” सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथलाई सानो खटमा बोकेर बुङ्मतीस्थित मन्दिरमा पुनःस्थापना गरिन्छ। मीननाथलाई भने टङ्गलमा रहेको चक्रबहिमा पुर्याएपछि रथयात्राको विधिवत् समापन हुने परम्परा छ।
रातो मच्छिन्द्रनाथलाई विभिन्न धार्मिक मतअनुसार फरक–फरक रूपमा पूजिन्छ: वैष्णवहरू विष्णुका रूपमा, शैवहरू शिवका रूपमा, शाक्तहरू शक्तिका रूपमा, सौरहरूले सूर्यका रूपमा, ब्राह्मणहरूले लोकेश्वरका रूपमा तथा बौद्धहरूले करुणामयका रूपमा आराधना गर्छन्।